२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन टुट्यो भने धुलोपिठो हुन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेको खण्डमा गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका छन्। 

नेकपा एमालेको गण्डकी प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलााई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आगामी स्थानिय चुनावमा गठबन्धन टुटाएर गए गठबन्धनमा आबद्ध दलहरू धुलोपिठो हुने दाबी गरेका हुन्।

गठबन्धन नटुटाउनका लागि एमसिसी पास गर्ने सहमति भएको खबर आफूले पाएको भन्दै उनल भने, ‘भर्खंरै मैले सुने, एमसिसी पास गर्ने, गठबन्धन नटुट्ने। यो गठटबन्धन टुट्दैन, टुट्नै हुँदैन, टुट्यो भने धुलोपिठो हुन्छ।’ आफूहरू पनि एक्लाएक्लै बोलाएर किस्ता किस्तामा लड्ने पक्षमा नभएको ओलीको भनाइ थियो।

हामी लड्न आउनेलाई ‘वान बाई वान’ आउ भन्दैनौं, दुवै हातको इशाराले देखाउँदै उनले भने, ‘आउ एकैपटक भन्छौं, सबैलाई एकमुष्ठ पार्छौं र एकैपटक पछार्छौं।’

एमाले अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरूमा एक्लाएक्लै चुनाव लड्ने ‘हुत्ती’ नभएको टिप्पणी गरे। गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने हुत्ती छ भन्ने प्रश्न गर्दै उनले चेतावनी युक्त भाषामा भने, ‘वैशाख ३० गतेमात्र आओस् न। एक झट्का हान्दा ७ दिन नउठ्ने गरी पछार्छौं।’ उनले गठबन्धनमा आबद्ध दलहरूले जसरी ढुंगा हानेर नभई जनताको पवित्र मन जितेर चुनाव जित्ने दाबी गरे। ‘जनता कहिले चुनाव आउला र सूर्यमा ड्यामका ड्याम छाप लगाउँला भनेर बसेका छन्,’ उनले भने।

अध्यक्ष ओलीले गठबन्धनमा आबद्ध दलहरूले चुनावमा हारिन्छ भन्ने डरले चुनाव सार्ने षडयन्त्र गरिरहेको आरोप लगाए। ‘चुनाव हुन नदिन प्रधानन्यायाधीसमाथि महाअभियोग लगाएर मुद्धा दर्ता गरिसकेका छन्,’ उनले भने।

एमालेप्रति जनलहर आएको बताउँदै उनले आगामी चुनावमा एमालेले नजित्ने ठाउँ र कारण नभएको बताए। जनतामा लहर आएपनि नेताहरू ठास्सठुस्स पर्दा केही निराशा छाएको बताउँदै उनले थपे, ‘हामी स–साना कुरामा अल्झिनु देशका लागि दुर्भाग्य हुन्छ, कम्युनिष्ट आन्दोलनका लागि दुर्भाग्य हुन्छ। त्यसैले हामी त्यस्तोमा अल्झिनु हुँदैन।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनका कार्यकर्ताले एमसिसीको पक्षधरलाई ढुंगा हान्नु छाडेर आफूलाई ढुंगा हान्ने गरेको भन्दै गुनासो गरे। ‘ढुंगापनि कसलाई हान्ने भन्दा एमसिसी नेपालमा ल्याईपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोमा हिंड्दा ढुंगा हान्दैनन्, बरु ताली बजाउँछन्। एमसिसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिंड्दा ढुंगा हानिँदैन। नेपाली कांग्रेसले एमसिसी पास गर्नुपर्छ भन्छ तर ढुंगा हानिँदैन।

संसद्मा टेबल गर्ने सभामुखलाई पनि ढुंगा हानिँदैन। तर मलाई ढुंगा हानिन्छ,’ उनले भने। सत्तारुढ गठबन्धनले तमासा देखाइरहेको टिप्पणी गर्दै उनले भने,‘देशमा शान्ति सुव्यवस्था छैन, तमासापनि हदको हुन्छ नि सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन उनैले पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन ढुंगा हान्छन् ।’

अध्यक्ष ओलीले एमालेलाई खुत्रुकेको रूपमा नबुझ्न कांग्रेस, माओवादीलाई चेतावनी दिए। ‘हिजो मेरो प्रधानमन्त्री र प्रचण्ड दुवैसँग भेट भएको थियो। मैले दुवैलाई भनेको छु, हामीलाई खुत्रुकेका रूपमा नबुझ्नुस्, जसलाई जतिबेला चाहियो त्यतिबेला फुटाएर काम चलाउने,’ उनले भने। उनले एमाले प्रधानमन्त्री पदका लागि स्वाँस्वाँ र फ्वाँ फ्वाँ गरेर कुद्ने पार्टी नभएको बताए। 

आफू नेतृत्वको सरकार ढालेर प्रचण्ड र माधव नेपालले जनतालाई धोका दिएको उनले आरोप लगाए। उनले माधव नेपाल कम्युनिष्ट नै नभएको भन्दै उनको पछि नलाग्न नेकपा एकीकृत समाजवादीका कार्यकर्तालाईसमेत आग्रह गरे ।

अध्यक्ष ओलीले एमालेका नेता/कार्यकर्ताहरू केही पाउँला र खाउँला भनेर राजनीतिमा नलागेको बताए। ‘एमालेमा दृढता छ देश बनाउने, अठोट, प्रतिबद्धता र संकल्प छ देश बनाउने। त्यहीँ भएर प्रतिपक्षमा हुँदा पनि एमालेमा आउनेको लहर छ,’ उनले भने। कसैले एमालेले सरकारमा हुँदा के गर्‍यो भनेर प्रश्न सोधेमा आफै बसेको वरीपरि देखाइदिन ओलीले सुझाव दिए। ‘यता, उता, जताततै भएका विकास देखाउन सक्नुहुन्छ, केहि पाउनु भएन भने नेपालको नक्सा देखाइदिनुस्,’ उनले भने। गुमेको भू–भाग फिर्ता ल्याएकाले त्यहीँ नक्सा मात्रै पनि विपक्षीका लागि काफी हुने उनको भनाइ थियो।

प्रकाशित: १४ फाल्गुन २०७८ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App