५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्री हाङगामद्धारा लोकल मदिरालाई ‘बेण्ड होइन,ब्राण्ड' बनाउने बहसको पुनः जागृत

प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले लोकल मदिरालाई ‘बेण्ड होइन, ब्राण्ड’ बनाउने भनाइलाई फेरी बहसमा ल्याएका छन्। यसअघि प्रदेश १ सरकारका तत्कालिन सामाजिक विकास मन्त्री उषाकला राईले स्थानीय मदिरालाई ब्राण्ड बनाउने भन्दै यसका लागि अध्ययन कार्यदल समेत बनाएकी थिइन्।

प्रदेश सरकारको मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला ताप्लेजुङ आइपुगेका हाङ्गामले शनिबार पत्रकार भेटघाट कार्यक्रममा भने ‘लोकल रक्सीलाइ ब्राण्ड बनाएर स्थानीय वस्तुको उपभोग र उपयोगितामा वृद्धि गर्नु अनिवार्य छ।’ स्थानीय कच्चा पदार्थको प्रयोग गरी बनाइएको मदिरालाई ब्राण्ड बनाएर उत्पादन र आम्दानीमा वृद्धि गर्न सके यसले आर्थिक उर्पाजन गरी आत्मनिर्भर बनाउने दावी समेत उनले गरे। तर यसको समग्र व्यवस्थापन र नियमनका लागि भने संयन्त्र बनाइनुपर्नेमा उनले जोड दिए।

आफूले सम्हालेको मन्त्रालय नयाँ रहेको बताउँदै मन्त्री हाङ्गामले साना उद्योगको प्रवद्र्धन र स्थानीय कच्चा पदार्थको प्रयोग गरी आफैं आत्मर्निभर बन्न सकिने गरीका योजनामा उद्यमीलाई सीपयुक्त बनाउन आफू लागि पर्ने बताए।

प्रदेश १ मा सम्भावना बोकेको उद्यम अलैंची खेति प्रवद्र्धन, यसको उचित प्रशोधन गरी स्थानीय स्तरमै मसला बनाउने र यसका रेसाहरुको प्रयोगबाट बनाइने विभिन्न सामग्रीको उत्पादन तथा बजारीकरण, बाँस, बेत र चोयामार्फत् बनाइने विभिन्न सामग्रीको उत्पादन र बजारीकरणमा आफ्नो ध्यान केन्द्रित हुने हाङ्गामले बताए।

साना उद्यमी बनाउने र उनीहरुलाई व्यवसायिक बनाएर आत्मनिर्भर बनाउने अभियानमा आफूले योजना केन्द्रित गर्ने उनको भनाइ थियो। सीप हासिल गरेका र सीप हस्तान्तरण गर्ने दुबै पक्षको पलायन रोकी उनीहरुलाई व्यवसायिक बनाउने अभियानको थालनी आफ्नै पहलबाट सुरु हुने उनले बताए। मन्त्री हाङ्गामले यहाँका वस्तुगत आवश्यकता र उद्यम सृजनाका क्षेत्रहरुको पहिचानमा उचित परार्मश दिन यहाँका सञ्चारकर्मीहरुसँग आग्रह समेत गरेका छन्।

प्रकाशित: ७ फाल्गुन २०७८ ०७:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App