६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, आजै मतगणना हुने

राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि मतदान सुरु भएको छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेशसभा भवन परिसरमा मतदान भैरहेको छ।

मतदान स्थलमा दुई मतदान केन्द्र राखिएको छ। प्रदेशसभा सदस्यलाई मतदान गर्न मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई मतदान केन्द्र‘ख’मा मतदान गर्ने व्यवस्था गरिएको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले बताए। दुई वटा मतदान केन्द्रमा मतदान जारी रहेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान गर्ने समय दिउँसो ३ सम्म तोकिएको छ। मतदान सकिएपछि आज नै मतगणना गरिने भट्टले बताएका छन्।

सुदूरपश्चिममा ६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। एमाले र गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

नेकपा एमालेको खुल्लातर्फ डोटीका डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी थापा शर्मा र दलिततर्फ बैतडीका नरेश बिक उम्मेदवार रहेका छन्। भने गठबन्धनका तर्फबाट खुल्लामा नेपाली कांग्रेसका नारायणदत्त मिश्र, महिला कोटामा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम इन्चार्ज गरिमा शाह र दलितमा माओवादी केन्द्रका डडेल्धुराका जगत पार्की उम्मेदवार छन्।

सुदूरपश्चिममा स्थानीय तहका १ सय ७५ र प्रदेश सभा सदस्य ५२ गरेर २ सय २७ मतदाता रहेका छन्। मतभार स्थानीय तहको १८ र प्रदेश सभा सदस्यको ४८ रहेको छ।  

सुदूरपश्चिममा आगामी फागुन २० गते पदावधि सकिनेमा राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्ट रहेका छन्। २०७५ असार ४ गते गोलाप्रथा गर्दा तीनै सदस्यको कार्यकाल ४ वर्षमा परेको थियो। राष्ट्रिय सभाका २० सासंद चार वर्षे कार्यकाल पूरा गरेर अगामी फागुन २० गते बिदाई हुँदैछन्। १ जना राष्ट्रपतिले मनोनयन गर्ने छन्, भने १९ पदका लागि ७ बटै प्रदेशमा निर्वाचन हुन लागेको हो।

प्रकाशित: १२ माघ २०७८ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App