६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

'वैधानिक एकता गर्नुपर्छ, अंगालो हालेर हुँदैन'

बाँकेमा शनिबार नेता, कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौंर। तस्बिरः अर्जुन/नागरिक

नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौंरले पार्टीको आन्तरिक निर्वाचन समाप्त भइसकेकाले अब सबै मिलेर पार्टी निर्माणमा लाग्न जरुरी रहेको बताएका छन्। यसका लागि पार्टीभित्र वैधानिक एकता गर्न आवश्यक रहेको उनको भनाइ छ।  

कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले शनिबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता राठौंरले भने, ‘वैधानिक एकता हामीले गर्नुपर्छ, अंगालो हालेर, हात मिलाएर एकता हुँदैन, चुनाव जितेकाले सबैलाई समेट्ने, चुनाव हारेकाले सहयोग गर्ने र पाँच वर्ष कुर्ने, पाँच वर्षपछि साथीहरुको बीचमा जान्छु भनेर तयारी गर्ने।’  

कांग्रेसलाई एक ढिक्का बनाएर जान ठूलो चुनौती रहेको उनको भनाइ छ। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले लोकतान्त्रिक पद्धतिलाई अंगाल्नु पर्ने नेता राठौरले स्पष्ट पारे। नेतृत्वले पार्टीलाई एकताबद्ध ढंगले लिएर जान जरुरी रहेको पनि सह–महामन्त्री राठौरले जोड दिए।  

‘सबै हिसाबले एउटा परिपक्क र जुझारु युवा भएको पुस्ता चाही नेतृत्वमा आएको छ, यो नेतृत्वले अब काम गरेर देखाउनुपर्ने जरुरी छ,’ उनले भने, ‘अधिवेशन सम्पन्न भइसक्यो, त्यसमा बुद्धि पुर्‍याएर चाही अगाडी बढ्न जरुरी छ।’  

पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर जाने राठौंरले बताए। ‘हाम्रो सभापतिले म सबैलाई मिलाएर लिएर जान्छु भनेर भन्नु भएको छ, उहाँसँग त्यो क्षमता पनि छ, यो देशका सबै पार्टीलाई सँगै लिएर सरकार बनाउनु भएको छ,’ उनले अगाडि थपे। मुलुकको वर्तमान व्यवस्थालाई कांग्रेस बाहेक अरु कसैले बचाउन नसक्ने प्रतिनिधि सभाका सांसद समेत रहेका राठौरले ठोकुवा गरे। उनले भने, ‘किनभने यो संविधानको घोषणा पनि हामीले गरेको हो, यो संविधानलाई कार्यान्वयन पनि हामीले गरेको हुनाले यो ब्यवस्था बचाउनका लागि वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई जिताउन जरुरी छ।’

कम्युनिष्टले जितेका कारण वडादेखि हरेक ठाउँमा भ्रष्टाचार भएको सहमहामन्त्री राठौरको जिकिर छ। ‘म भन्न चाहन्छु, भ्रष्टाचारको अन्त्यको लागि पनि कांग्रेसले जित्न जरुरी छ, कांग्रेसले नजितेसम्म भ्रष्टाचार रोकिने वाला छैन, त्यसैले म भन्न चाहन्छु कि यि सबै कुराको लागि कांग्रेसलाई जिताउन जरुरी छ।’  

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मुलुकको हरेक परिवर्तनमा कांग्रेसले नै अगुवाई गरेको बताए। ‘कांगे्रेस नेताहरुले आन्दोलनको नेतृत्व गरेर मात्र परिवर्तन सफल भएको छ,’ उनले भने। कम्युनिष्ट पार्टीले जनता समक्ष झुटो कुरा मात्रै गर्ने केन्द्रीय सदस्य बाल्मिकीले जोड दिए। कांग्रेसले २००७ सालदेखि उठाउँदै आएको संविधान सभा र संविधानलाई कांग्रेसकै नेतृत्वमा जारी गरिएको बताए।

यस्तै अर्का केन्द्रीय सदस्य जुवेदा खातुनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाको चरण सकिएको र अब विपक्षीसँग लड्नुपर्ने बेला आएको बताइन्। पार्टीलाई आगामी दिनमा स्थानीय, प्रदेश र संघीय निर्वाचनमा निर्वाचिन गराउन सबै कार्यकर्ता अग्रसर रहनुपर्नेमा जोड दिइन्। ‘अहिले सबै जातजातीको अधिकार स्थापित भएको छ, नेपाली कांग्रेस सबै जातजातीको पार्टी हो,’ नेतृ खातुनले भनिन्।

प्रकाशित: २४ पुस २०७८ १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App