७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले अधिवेशनको लोगोमा चियाबारी र रेडपान्डा

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं जिल्ला अधिवेशनका लागि लोगो तयार गरेको छ। चियाबारीको बीचमा लोपोन्मुख रेडपान्डाले कम्युनिस्ट पार्टीको झन्डा उचालिराखेको, छेउमा झुल्के घाम भएको लोगो १०औं जिल्ला अधिवेशन सचिवालयले पारित गरेको छ।  

आउँदो २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि लोगो निर्धारण गरिएको कार्यालय सचिव रवीन्द्र सुवेदीले बताए। ‘इलामको पहिचानका लागि लोपोन्मुख रेडपान्डा र प्रसिद्ध चियाबारीको सांकेतिक चित्र लोगोमा राखिएको छ,’ उनले भने, ‘यसले इलामको प्रतिनिधित्व गर्नेछ।’ अधिवेशनको नारा चाहिँ आउँदो १९ गते बस्ने सचिवालयले तय गर्ने उनले जनाए।  

अधिवेशनले १ सय  ५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएको एमालेले जनाएको छ। ‘अधिवेशनका लागि करिब–करिब सबै प्रतिनिधि छानिइसकेका छन्,’ उनले भने, ‘अहिलेको आँकलनअनुसार ७ सय ६६ प्रतिनिधि सहभागी हुने देखिन्छ तर त्यसको ५ प्रतिशत मनोनयन पनि बाँकी नै छ।’ अधिवेशनका लागि प्रतिनिधिको अन्तिम टुंगो पनि आउँदो १९ गतेको सचिवालय बैठकले नै लगाउनेछ। अधिवेशनका लागि विभिन्न उपसमितिहरूले धमाधम तयारी गरिरहेको सुवेदीले बताए।

एमाले जिल्ला कमिटीले अधिवेशनका लागि ४५ संगठित सदस्यबराबर १ प्रतिनिधि छानेको छ। २२ महिलाबराबर १ र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको सङ्ख्या निर्धारण गरिएको थियो। जिल्लामा एमालेका १३ हजार ३ सय २ संगठित सदस्य छन्। उनीहरूबाट छानिएर आएका प्रतिनिधिले जिल्ला अधिवेशनका लागि नेतृत्व चुन्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउँछन्।

जिल्लाका १० वटै पालिका र सबै वडा कमिटीलाई आउँदो १८ गतेभित्रमा सदस्यताको यकिन विवरण अद्यावधिक गरी उपलब्ध गराउन सर्कुलर गरिएको छ। अधिवेशनमा नयाँ कमिटीका लागि मनोनयन शुल्क निर्धारण गर्न बाँकी छ। प्रत्येक प्रतिनिधिबाट पाँच सय रुपैयाँ लिएर प्रतिनिधिको नाम दर्ता गरिने छ।

सदरमुकामको सिटी हलमा अधिवेशन हुनेछ। पार्टी केन्द्रको निर्देशनअनुसार सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको जिल्ला अध्यक्ष महेश बस्नेतले जानकारी दिए। 

प्रकाशित: १७ पुस २०७८ १३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App