५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

थापा र लिङदेनद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्।  

शुक्रबार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रियसभामा पुगेर मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्याधिक बहुमतबाट विजय हासिल गर्ने दाबी गरे। उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताए।

अध्यक्ष थापाले शीर्ष नेताहरु सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे। उनले पार्टीमा युवा नेतृत्व आउनु शुभ संकेत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनय दर्ता गराएको बताए।

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको स्पष्ट पारे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए।  

अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरुको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए। उनले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दुराष्ट्रवादीहरुलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए।

पार्टीको निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयावधिभित्र अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेन गरी दुई जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ। त्यस्तै उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लिलादेवी श्रेष्ठ रहेका छन् भने जगतप्रसाद गौचन, रामचन्द्रराय यादव, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी श्रेष्ठसहित ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै महामन्त्रीमा महिलातर्फ रेखा थापा, कुन्तीकुमारी शाहीको नाम दर्ता भएको छ भने पुरुषतर्फ धवलसमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भाष्कर भद्रासहित ६ जनाको उम्मेदवारी परेको छ। 

प्रकाशित: १७ मंसिर २०७८ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App