८ वैशाख २०८१ शनिबार
राजनीति

माधव नेपाल उदयपुरमा, केही बोलेनन् राजनीतिक विषयमा

सत्तारुद दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल उदयपुर आएका छन्। अघिल्लो दिन पुत्र वियोगमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीको परिवारलाई सान्त्वना दिन अध्यक्ष नेपाल गाईघाट आएका हुन्।

हेलिकोप्टरमार्फत विहान ११ः३० बजे स्थानीय हवाईफिल्डमा उत्रिएर अध्यक्ष नेपाल सोझै पुत्र वियोगमा परेका मेयर चौधरीको त्रियुगा नगरपालिका ११ पुरानोगाईघाटस्थित घर पुगेर शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका थिए।

त्यसलगत्तै सुरु भएको शव यात्रामा सहभागी हुँदै अध्यक्ष नेपाल स्थानीय त्रियुगाघाट पुगे। पार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आएका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले स्वर्गीय चौधरीको शवमा माल्यार्पण गर्नुका साथै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे।

श्रद्धाञ्जली सभामा छोटो समवेदना मन्तव्य राखेका उनले राजनीतिक विषयमा केही बोलेनन्। नेकपा (एस) प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर चौधरीलाई समवेदना दिन मात्र नेपाल गाईघाट आएको पार्टीले जनाएको छ।

समबेदना दिनका लागि आएको हुनाले उनले पार्टी कार्यकर्ता कसैसँग भेटघाट नगरी २ः०० बजे सोही हेलिमार्फत राजधानी फर्केको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले बताए।

२५ वर्षीय मेयर पुत्र मनोजको शनिबार वनभोज खाने क्रममा दहमा डुबेर निधन भएको थियो। दर्जन बढी साथीहरुसँगै चौदण्डीगढी नगरपालिका ९ देवधारस्थित खोला किनारमा वनभोज खाँदै खेल्ने क्रममा दहमा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ।

सँगै गएका साथीहरु कोही पकाउने, कोही खेल्ने र खाने गरिरहँदा मनोज भने पौडी खेल्दै गर्दा डुबेर प्राण उडिसकेपछि मात्र साथीहरुले चाल पाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०७८ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App