२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीलाई अब ग्राउण्डेड गर्नुपर्छः पुन

कस्केली माओवादी कार्यकर्तासँग भेटघाट गर्दै पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता गणेशमान पुन। तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले पावर पोलिटिक्समा चुर्लुम्म डुबेको माओवादीलाई ग्राउण्डेड गर्न आग्रह गरेका छन्। गृहजिल्ला रुकुम पूर्व जाने क्रममा पोखरा आइपुगेका उनले कास्केली पार्टी कार्यकर्तासँगको भेटघाटमा पार्टीलाई पावर पोलिटिक्सबाट ग्राउण्डेड गर्न आग्रह गरेका हुन्।

‘अन्य पार्टीजस्तै हाम्रो पार्टीपनि पावर पोलिटिक्समा चुर्लुम्म डुब्यो। अब यसलाई भुईंमा टेकाउनु प¥यो, पार्टीलाई ग्राण्डेड गर्नुस,’ उनले भने। माओवादी केन्द्रका नेता पुनले पार्टीलाई ग्राउण्डेड गर्नका लागि स्थानीय पार्टी र कार्यकर्ताले स्थानीय एजेण्डा बोक्नुपर्ने बताए। ‘वडाले वडास्तरको, पालिकाले पालिका स्तरको, क्षेत्रले क्षेत्रीयस्तरको र जिल्लाले जिल्लास्तरको एजेण्डा तय गर्नुस्, त्यसलाई पार्टीले अपनत्व लिएर स्थापित गर्नुस्,’उनले भने।  

‘जनता र पार्टी एकातिर हुँदा पार्टी बनेन, उनले थपे, ‘स्थानिय पार्टी र कार्यकर्ताले स्थानीय स्तरको शिक्षा, स्वास्थ्य, सामाजिक, लैंगिक विभेद, जनतालाई उत्पादनसँग जोड्नुपर्‍यो, रोजगारी सिर्जना, स्वरोजगार, श्रमप्रतिको सम्मान गर्नेलगायतका एजेण्डा पहिचान गर्ने र त्यसलाई अनरसीप लिदै स्थापित गर्नुस्।’ 

नेता पुनले पार्टी बनाउनका लागि पार्टीले वर्ग संघर्ष बिर्सनु नहुने बताए। उनले भने,‘पार्टीले वर्ग विश्लेषण गर्नुपर्‍यो। पार्टीले खाका बनाउनु पर्‍यो। पार्टी जनतासँगै हुनु पर्‍यो। जनताको सुखदुःखमा सँगसँगै हुनुपर्‍यो।’

नेता पुनले माओवादी पार्टीलाई ज्ञानमा आधारित पार्टी बनाउनुपर्नेमा जोड दिए। ‘देशमा बहस नभएको धेरै भयो, ज्ञानका कुरापनि भएन पार्टीमा, माओवादीलाई ‘नलेज बेस पोलिटिक्स र नलेज बेस’ पार्टी बनाउनुपर्‍यो,’उनले भने। उनले माओवादीले पहिचानको मुद्धामा बहस सिर्जना गरेपनि त्यसलाई स्थापित गर्न नसक्दा पहिचानको मुद्धा स्थापित हुन नसकेको भन्दै भने, ‘हिजो जनयुद्ध गर्‍यौं, लड्यौं, भिड्यौं, उपलब्धी हाँसिल भयो। तर त्यसको अनरसीप लिएन, अबदेखि हरेक मुद्दालाई पार्टीले अपनत्व लिने बनाउनुपर्छ।’

नेता पुनले माओवादीले चाँडै समाजवादको खाका लिएर जनतामा जाने बताए। ‘माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गरेर समाजवादको मोडालिटी खोजिदैछ। समाजवाद कस्तो हुन्छ? नेपाली परिवेस अनुसार समाजवादमा शिक्षा कस्तो हुने, स्वास्थ्य कस्तो हुने ? विकास कसरी गर्ने? भन्ने सबै खुलाएर मोडालिटी ल्याइन्छ,’उनले भने। उनले समाजवादको मोडलमा वर्ग सन्तुलनलाईपनि सम्बोधन गरिने बताए।

प्रकाशित: २ मंसिर २०७८ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App