६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले कास्की समानान्तर कमिटी समाजवादीमा समायाेजन

एमालेको कास्की र पोखरा महानगर समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण गर्ने घोषणा कार्यक्रम।

नेकपा एमाले भित्र अन्तरसंघर्ष गर्ने उद्धेश्यले माधव नेपाल समूहले कास्कीमा बनाएको दुई वटै समानान्तर समिति नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको छ। एमालेमा रहँदा नेपाल समूहले बनाएको कास्की जिल्ला र पोखरा महानगरको सिंगो कमिटी नया पार्टी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण भएको हो। पोखरामा मंगलबार भएको कास्की जिल्ला र पोखरा महानगर समानान्तर कमिटीको संयुक्त बैठकले नेकपा एकीकृत समाजवादीमा रुपान्तरण हुने निर्णय गरेको जिल्ला संयोजक धनराज आचार्यले जानकारी दिए।

आचार्यको संयोजकत्वमा १८५ सदस्यीय जिल्ला समानान्तर कमिटी र मुक्तिनाथ पौडेलको संयोजकत्वमा १४१ सदस्यीय पोखरा महानगर कमिटी रहेको थियो। एमालेका प्रभावशाली नेताहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका नेता नया पार्टीमा नगएपछि समानान्तर कमिटीका अधिकांश सदस्य एमालेमै रहने अनुमान गरिएको थियो। अझ कास्की जिल्ला संयोजक आचार्यलगायतका केहि प्रभावशाली नेता एमालेमै रहने भनेर प्रचार गरिएको थियो। तर पूर्वअनुमान विपरित दुवै समानान्तर कमिटी समाजवादीमा रुपान्तरण भएको घोषणा गरिएको छ।

रुपान्तरित कमिटीहरुले भदौ २१ भित्र कास्कीका सबै पालिकामा रहेका वडाहरुमा वडा कमिटी गठन गरिसक्ने जनाइएको छ। जिल्ला समानान्तर कमिटीलाई अब नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला समिति र महानगर समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीको पोखरा महानगर कमिटीमा रुपान्तरण गरिएको छ’ संयोजक धनराज आचार्यले भने। एमालेमा रहँदा केपी ओली प्रवृत्तिबिरुद्ध लड्न समानान्तर कमिटी बनाइएको र अहिलेपनि त्यो प्रवृत्ति समाप्त नभइसकेकाले नया पार्टीमा रुपान्तरण गरिएको आचार्यले बताए। उनले भने,'समानान्तर कमिटी बनाउँदाको अवस्था अहिलेपनि छ, त्यसैले त्यसलाई परास्त नगरेसम्म लडिरहने प्रतिबद्धता अनुरुप समानान्तर कमिटीलाई नया पार्टीमा रुपान्तरण गरेका हौं।’

कमिटी रुपान्तरण कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तुलबहादुर गुरुङले एमालेको नेतृत्व पंक्तिसँग बैचारिक रुपमै मतभेद भएपछि विद्रोह गरेर नया पार्टी खोल्नुपरेको बताए। नेताको ईगो र पदका लागि पार्टी विभाजन नगरिएको उनको जिकीर थियो। कम्युनिष्ट मूल्य मान्यता विपरित बलमिच्याई हाबी भयो, त्यागी र ईमान्दार नेताको संरक्षण नहुने स्थिति देखाप¥यो, सिद्धान्तको सहि रुपमा कार्यान्वयन हुने अवस्था देखिएन, त्यहाँ बसेर कम्युनिष्ट आन्दोलन सहि दिशातर्फ लैजान नसकिने देखेरै हामीले विद्रोह गरेका हौं’–उनले भने।

अर्का केन्द्रीय सदस्य चुडामणी जंगलीले ओली गुटले कब्जा गरेर एमालेलाई सिद्धान्तहीन र दिशाहीन बनाएपछि त्यहाँबाट परिवर्तन सम्भव हुने नदेखेकाले विद्रोह गरेर नया पार्टी बनाउनुपरेको बताए। केन्द्रीय सदस्य शारदाप्रसाद सुवेदीले एमालेमा असली कार्यकर्ता नरहेको र केहि बचेखुचेकाले पनि केहि दिनपछि एमाले छाड्ने दाबी गरे।

प्रकाशित: १६ भाद्र २०७८ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App