coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र) का १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन्।

उता सरकारको समर्थनमा नेकपा (एमाले) का ३९ प्रदेशसभा सदस्य छन्। अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो। यसअघि विपक्षी गठबन्धनले गत वैशाख ६ र वैशाख २६ गते सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो। विपक्षी गठबन्धन र नेकपा (एमाले) विशेष अधिवेशनमा आफ्नो रणनीति बनाउन बिहानैदेखि छलफलमा व्यस्त छन्। सतासी सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन्।  

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए। प्रदेश सरकार गठन हुँदा विसं २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि विसं २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो। रासस

प्रकाशित: २७ श्रावण २०७८ ०५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App