६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् पूर्णता छिट्टै

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारको साझा कार्यक्रमसहित मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको छ। एमाले नेता माधवकुमार नेपाललाई मंगलबार बिहान कोटेश्वरमा भेटेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न दाहाल बालुवाटार पुगेका थिए।

दुई नेताबीच सरकारको काम प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने र मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने समझदारी बनेको हो। देउवा–दाहाल भेटमा केपी ओली नेतृत्वको सरकारले यसअघि संसद्लाई छलेर संवैधानिक निकायमा गरेका नियुक्ति खारेज गर्ने विषयमा पनि कुरा भएको छ। यो विषय कसरी समाधानमा पुर्‍याउने भन्ने निष्कर्ष निस्कन भने बाँकी रहेको स्रोतले बतायो।  

त्यसअघि कोटेश्वरमा दाहाल, एमाले नेता नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको भेटवार्तामा पनि ओली सरकारले असंवैधानिक ढंगबाट गरेका राजनीतिक नियुक्ति खारेज गर्ने विषयमा कुरा भएको थियो। दाहाल र यादवले एमाले नेता नेपाललाई सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए। नेपालले तत्कालका लागि सहभागी नहुने बताएका स्रोतको दाबी छ। नेपाल खिमलाल देवकोटासहितका नेतालाई सरकारमा सहभागी गराउन भने सकारात्मक रहेको स्रोतले बतायो।  

प्रधानमन्त्री देउवा पनि मंगलबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेका थिए। दाहालको निम्तामा खुमलटार पुगेका देउवाले सीता दाहालको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए। दाहाल निवासमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासमेत उपस्थित थिए।  

भेटमा सहभागी कांग्रेस महामन्त्री खड्काका अनुसार सरकारलाई पूर्णता दिनेसहितका विषयमा सैद्धान्तिक छलफल भएको छ। ‘चिया खान प्रचण्डजी (दाहाल) ले बोलाउनुभएको थियो। त्यसक्रममा मन्त्रिपरिषद्लाई पूर्णता दिनेसहितका विषयमा सैद्धान्तिक कुरा भए,’ खड्काले भने, ‘त्यहाँ कुनै सहमति हुने कुरा भएन। तर सबै विषयलाई चाँडो टुंग्याएर अघि बढ्ने कुरा भएको छ।’

प्रधानमन्त्रीमा शपथ लिएकै दिन देउवाले माओवादी र आफ्नै पार्टीका दुईदुई नेतालाई मात्र सरकारमा सहभागी गराएका छन्। सत्तासाझेदारीका लागि तयार रहेको जनता समाजवादी पार्टी आधिकारिकता विवाद टुंगिएपछि मात्र सरकारमा सहभागी हुने पक्षमा देखिएको छ। त्यस्तै एमालेभित्रको असन्तुष्ट पक्ष पनि केही समय हेर्ने रणनीतिमा रहेको सो समूहका नेताले बताउँदै आएका छन्। देउवा भने मन्त्रिपरिषद् छिटो विस्तारको पक्षमा रहेको नेताहरूको दाबी छ।

प्रकाशित: ६ श्रावण २०७८ ०१:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App