coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशः मुख्यमन्त्रीमा पोखरेलको दाबी

कांग्रेस सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग दाबीसहित प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै सांसदहरू। तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएको छ। प्रदेश प्रमुखबाट शुक्रबार अपराह्न संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि आह्वान भएपछि गठबन्धनले दाबी प्रस्तुत गरेको हो।

गठबन्धनले प्रदेशसभाका ३१ सदस्यको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल (नेपाली)लाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सीता पौडेल समक्ष प्रस्ताव  

गरेको छ। जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि ६० सदस्यीय प्रदेशसभामा ५९ सदस्य छन्।  

३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरिएको नेपालीले बताए। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पनि गठबन्धनको प्रस्तावमा हस्ताक्षर गरेका छन्। नेपालीलाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) का २, जनमोर्चाका २ र स्वतन्त्र एक सांसदले हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। उनीहरूले प्रदेश प्रमुखकै अगाडि हस्ताक्षर सनाखत गर्न माग गरेपछि प्रदेश प्रमुखको कार्यालयले त्यसको व्यवस्था गरेको थियो। ‘हाम्रो आग्रहलाई प्रदेश प्रमुखले स्वीकार गर्दै सनाखतको व्यवस्था गरिदिनु भयो र सशरीर पुगेका हामीले सनाखतका लागि हस्ताक्षर गर्‍यौं’, माओवादी केन्द्र संसदीय दलका उपनेता रामजीप्रसाद बरालले भने।

हस्ताक्षर बुझाएपछि नेपालीले आफूहरूले प्रक्रिया पुर्‍याएर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेकाले नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गरेको बताए। प्रदेश प्रमुख पौडेलले आफूले अध्ययन गरेर प्रावधान र प्रक्रिया अनुसार निर्णय गर्ने बताएको जानकारी नेपालीले दिए।

हस्ताक्षर सनाखतको एकप्रति गठबन्धनले राखेको छ। सुरुमा सनाखत प्रतिलिपि दिन नमिल्ने भनेको प्रदेश प्रमुखको कार्यालयले गठबन्धनका सांसद धर्नामा बसेपछि दिएको थियो। ‘हामीले सनाखतको एक प्रतिलिपि मागेका थियौं तर प्रदेश प्रमुखको कार्यालयले दिन मिल्दैन भन्यो। हामी धर्नामा बस्यौं। त्यसपछि बल्ल कर्मचारीले दिए’, एक सांसदले भने।

हस्ताक्षर सनाखतपछि गठबन्धनका सबै सांसद पोखराको एक रिसोर्टमा बसेका छन्। प्रदेशसभामा विश्वासको मत गुमाएको एमाले नेतृत्वको कामचलाउ सरकारले प्रदेशसभा विघटनका लागि चलखेल गर्नसक्ने भन्दै हस्ताक्षर बुझाएका सांसद सबै रिसोर्टमा बसेको स्रोतले बतायो।  

यसअघि शुक्रबार अपराह्न गण्डकी प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिँँदै संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेकी थिइन्। संविधानको धारा १६८ को उपधारा १, २ र ३ अनुसार सरकार गठन गर्ने प्रक्रिया सकिएकाले उपधारा ५ अनुसार प्रदेशसभामा बहुमत पुर्‍याउन सक्ने आधारसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयका तर्फबाट प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको पत्रमा लेखिएको छ, ‘संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साल जेठ २९ गते दिउँसो ३ बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको प्रदेशसभाका सदस्यहरूलाई आह्वान गरिएको छ।’ यो उपधाराअन्तर्गत प्रदेशसभाका जुनसुकै सदस्यले पनि बहुमत पुर्‍याउन सक्ने आधार प्रस्तुत गरेमा मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने व्यवस्था छ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो। ६० सदस्यीय प्रदेशसभामा गुरुङले राखेको विश्वासको प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो।  

जनमोर्चाका सांसद थापा पदमुक्त

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पुनः पदमुक्त भएका छन्। बागलुङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित सांसद थापा गण्डकी प्रदेशसभा सदस्यबाट दोस्रो पटक पदमुक्त भएका हुन्। गण्डकी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चाले थापालाई पदमुक्त गर्न सिफारिस गरेका आधारमा पदमुक्त भएको जानकारी गराएका थिए।  

यसअघि जेठ २० गते पनि जनमोर्चाले प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो। त्यसविरुद्ध थापा सर्वोच्च अदालतमा गए। सर्वोच्च अदालतले उनको पद थमौती गरिदिएको थियो। थापाले दलको ह्विप उल्लंघन गरेको वा दल अदलबदल गरेको नदेखिएकाले पदमुक्त गर्ने निर्णय लागू नगर्न सर्वोच्चले आदेश दिएको थियो। तर यसपटक भने जनमोर्चाले प्रदेशसभा सदस्य थापाले दलको ह्विप नमानेको स्पष्ट पार्दै पदबाट हटाउन सभामुखलाई सिफारिस गरेको हो।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मत माग्दा जनमोर्चाले विपक्षमा मत हाल्न आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो। तर थापा ह्विप उल्लंघन गर्दै तटस्थ बसेका थिए।

थापा पदमुक्त भएसँगै अब गण्डकी प्रदेशसभा ५९ सदस्यीय भएको छ।

प्रकाशित: २९ जेष्ठ २०७८ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App