१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यादव र ठाकुरबीच स्पष्टीकरणकाे ‘दोहाेरी’

जनता समाजवादी पार्टीको विवाद उत्कर्षमा पुगेर स्पष्टिकरणको दोहाेरी चलेको छ। पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीच केपी ओली नेतृत्वको सरकारलाई किन सघाएको र किन नसघाएको विषय मूल ‘मुद्दा’ बनेको छ। दुबै नेताले मधेस आन्दोलनको मूल ‘मुद्दा’ छोप्नेगरी मधेसले सरोकार नै नराखेको मुद्दामा अल्झिएका छन्। उपेन्द्र यादव मधेस विद्रोहका नायकको रुपमा चिनिन्छन्। 

पहिलो माघे मधेस विद्रोह (०६३ )को लिडर उपेन्द्र यादव थिए। उनको नेतृत्वमा त्यसपछि पनि दुई वटा आन्दोलनहरु भएका छन्। ०६४ र ०७२ सालमा। तीन वटा आन्दोलनको नेतृत्वकर्ता यादव र दुई वटा मधेस आन्दोलनमा सहभागी ठाकुर नेतृत्वको पार्टी एकिकरण भई जनता समाजवादी पार्टी गठन भएको हो। एउटै मुद्दाका लागि दुुई वटा अलग पार्टी भएर संघर्ष गर्दा शक्ति क्षय हुने भन्दै एक भएको वर्ष दिन पूरा नहुँदै नेताहरुबीच मन मुटाव सुरु भयो।

पछिल्लो समय केपी ओली नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीलाई समर्थन दिने नदिने विषयमा जसपा दुई ध्रुवमा बाँडिए। महन्थ ठाकुरसहितका नेता ओलीको समर्थनमा उभिए। उपेन्द्र यादवसहितका नेता विपक्षी कित्तामा खडा भए। त्यसपछिको राजनीतिक घटनाक्रमले जसपा अहिलेसम्म वैधानिक रुपमा नफुटेपनि व्यवहारिक रुपमा फुटिसकेको देखिन्छ। जसपा भित्र विकसित भएको घटनाक्रमलाई नियाल्दा तत्कालिन नेकपा (माओवादी केन्द्र– नेकपा एमाले) फुट्नुअघिको दृश्य प्रष्ट देखिन्छ। राजनीतिक विश्लेषकहरुका अनुसार अहिले देखिएको दृश्य अझै प्रष्ट हुन अझै केहि समय प्रतिक्षा गर्नुपर्ने हुन्छ। ठाकुरसहितका नेताहरु ओली नेतृत्वको सरकारमा मन्त्रीको सपथ खाएपछि जसपामा चलिरहेको आरोपको दोहरी अन्त हुन्छ।  

जेठ ९ गते जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी विज्ञप्तीको ४ नम्बर वुंदामा भनिएको छ–पार्टीको सिद्धान्त, नीति, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ। साथै प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट  स्वातः निस्कासित हुनेछ।’

दुई दिनपछि जेठ ११ गत्ते महन्थ ठाकुरले उपेन्द्र यादवलाई सात बुंदे स्पष्टिकरण सोधेको छ। एकल अध्यक्षता गरी पार्टीको बैठक बसेर निर्णय गरेको लगायतका विषय समेटिएको छ। ठाकुरले सोधेको स्पष्टिकरणको मूल बुंदामा भनिएको छ– जेठ ६ गत्ते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदबार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव जेठ ७ गत्ते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ? ‘तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गर्न भयो?,’ यादवलाई सोधेको स्पष्टीकरणमा उल्लेख छ।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा किन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेको भन्नेलगायत विषयमा यादवबाट ठाकुरले जवाफ मागेलगत्तै जसपाको केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा पुनः ठाकुरसँग स्पष्टिकण मागिएको छ। स्पष्टिकरणपत्रमा भनिएको छ–‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नितिविपरित किन साथ दिएको ? अधिकारीले ठाकुरलाई सोधेको स्पष्टिकरण पत्रमा– ‘०७८ जेठ ३ गत्ते दुई अध्यक्षले जारी गरेको ८ बुंदे सहमति किन पालना नगरेको ?  पार्टी विधानको धारा २८ बमोजिम संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र के आधारमा संसदीय दलको नेता घोषणा गरी संघीय सरकारलाई पत्र पठाएको ? अधिकारीले ठाकुरलाई स्पष्टिकरण सोधेको छ।

पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्न भनि लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई सरकारसँग वार्ता कार्यदलमा किन पठाएको ? ठाकुरलाई सोधिएको स्पष्टिकरणपत्रमा उल्लेख छ। उपरोक्त विषयहरुको आधारमा तपाईबाट पार्टीमा गुटबन्दी गर्ने र अनुशासन भंग गर्ने गराउने कार्य भएकोले तपाईमाथि पार्टीको धारा ४९ बमोजिम अनुशासन सम्बन्धि कारवाही किन नगर्ने ? ठाकुरलाई अधिकारीले पठाएको स्पष्टिकरण पत्रमामा भनिएको छ,‘पत्र प्राप्त भएको तीन दिनभित्र चित बुझ्दो जवाफ प्राप्त नभएमा तपाईलाई पार्टी विधानवमोजिम अनुशासनको कारवाही हुने व्यहोरा अवगत गराइन्छ।’

जेठ ९ गत्तेदेखि ११ गत्तेसम्म जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई सोधेको स्पष्टिकरण पत्र।

प्रकाशित: १२ जेष्ठ २०७८ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App