coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अविश्वास प्रस्ताव पारित हुन नदिन कोरोनाको निहु

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने सम्भावना देखेपछि सत्तापक्ष नेकपा एमालेले कोरोना संक्रमणको बहाना बनाएर गण्डकी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदले मंगलबार संसद बैठक अवरुद्ध गरेका हुन् । २० मिनेटका लागि भनेर रोकिएको संसद दिनभर चलेन ।

मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावमा जनमोर्चाको पनि साथ रहेको छ । अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि प्रदेश सरकारले संसदको हिउँदे अधिवेशन हठात रुपमा मध्यरातमै अन्त्य गरेको थियो । त्यसलाई प्रदेश प्रमुख अमिक शेरचनले पनि साथ दिएका थिए ।

तर, अविश्वास प्रस्ताव पक्षधर कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष समावेदन दिए । बाध्य भएर प्रदेश प्रमुखले विशेष अधिवेशन सोमबारका लागि आव्हान गरेका थिए ।  

संसदको नियमित अधिवेशन अन्त्य गरेर सत्ता लम्ब्याउन गरेको प्रयास केही दिनका लागि मात्र सर्‍यो । किनकी लगत्तै प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेपछि सत्तारुढ एमालेको सत्ता लम्ब्याउने प्रयास लामो समय कायम रहन सकेन । तर विशेष अधिवेशन चलिरहँदा पनि एमाले सांसदले सत्ता लम्ब्याउन कोरोनाको बहानामा अर्को नाटक शुरु गरे ।

अविश्वास प्रस्तावको पक्षमा बहुमत पुग्ने देखेपछि सत्तापक्षले सत्ता लम्ब्याउन कोरोना संक्रमणको नाटक गरेको सांसदहरुको आरोप छ । प्रस्तावको पक्षमा बहुमत भएपनि सत्तापक्षले सत्ता र शक्तिको आडमा चलखेल (सांसद किनबेच) गर्न सक्ने देखेपछि प्रस्ताव पक्षधर दलहरुले आफ्ना सांसदहरुलाई पोखराको लेकसाइडस्थित कुटी रिसोर्टमा राखेका छन् । रिसोर्टमा राखेर सत्तापक्षसँग सम्पर्कमा आउन नदिदा प्रस्तावको पक्षमा बहुमत पुग्न नदिने षडयन्त्र पूरा नभएपछि सत्तारुढ दल एमालेले संसद अवरुद्ध गरेर सत्ता लम्ब्याउने अन्तिम कसरत गर्ने रणनीति बनायो । जसका कारण उसले मंगलबारको बैठकमा कोभिडको जोखिम बढिरहँदा संसद बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध जनायो । बैठक बस्नुअघि पिसीआर अनिवार्य गर्नैपर्ने उसको अडान छ ।

सभामुखे सत्तापक्षले संसद अबरोध गर्नु अशोभनीय हुने भन्दै उभिएका सांसदहरुलाई बसेर संसद बैठक सञ्चालनमा सहयोग गर्न बारम्बार आग्रह गर्दापनि उनीहरु बस्न मानेनन् र सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरे । तर २० मिनेटका लागि स्थगित बैठक २ घण्टा वित्दासमेत बस्न सकेको छैन ।

कार्यव्यवस्था परामर्श समितिमा सोमबार र मंगलबार बैठक बस्ने र त्यसका लागि कार्यसूची समेत निर्धारण भएको अवस्थामा सत्तापक्षले नै बैठक अवरुद्ध गर्नु सत्ता लम्ब्याउने नियत प्रष्ट देखिन्छ । संसद बैठक स्थगित गरेर सहमति गर्ने प्रयास भएपनि सत्तापक्षीय एमाले अडानमा अडिग हुँदा सहमति जुट्न सकेको छैन ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका उप नेता रामजीप्रसाद बरालले सत्ता लम्ब्याउनकै लागि कोभिडको बहानामा सत्तापक्षले सदन अवरुद्ध गरेको आरोप लगाए । यसरी सत्ता लम्ब्याउन खोजेर एमालेले सत्तालोलुप चरित्र देखाएको उनको टिप्पणी छ ।

कांग्रेस सांसद विन्दुकुमार थापालेपनि कोभिडको नाटक गरेर एमालेले सत्ता लम्ब्याउने प्रयास गरेको बताए । ‘कोभिड त बहाना मात्रै हो,’ उनले भने,‘सदन अन्त्य गरेपनि विशेष अधिवेशन बोलाएपछि अहिले कोभिडको जोखिम देखाएर सदन अवरुद्ध गर्ने प्रयास भइरहेको छ ।’ कार्यव्यवस्था परामर्श समितिमा मन्त्रीको उपस्थितिमा सहमति भएपछि अहिले संसद अवरुद्ध गर्नु प्रजातान्त्रिक मूल्य र मान्यता विपरित छ ।’ अविश्वासको प्रस्ताव पारित हुने देखेपछि त्यसलाई रोक्नका लागि एमालेले सदन अवरुद्ध गरेको उनको भनाई छ ।

प्रकाशित: १४ वैशाख २०७८ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App