५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्रमाथि प्रतिक्रान्तिकारीको हमला : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन अवस्थामा ‘जनुयद्ध’ लाई शान्तिपूर्ण राजनीतिको मार्गमा रुपान्तरण नगरेको भए आफूहरूको जित नहुने बताएका छन्। उनले माक्र्सवादलाई धर्मशास्त्र जस्तो बनाएको विश्व कम्युनिस्ट आन्दोलनले ठूलो क्षति भोगेको दाबी गर्दै नेपालमा त्यस्तो नहोस् भनेर आफूले ‘जनयुद्ध’ लाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गरेको बताएका हुन्।

काठमाडौंमा शनिबार आयोजित गंगा कार्कीको ‘दुसाध्य जनयुद्ध’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘हामीले पेरु, श्रीलंकालगायत देशको जस्तो युद्ध नहोस् भनेर क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको परिस्थिति अध्ययन गरी ‘जनयुद्ध’ लाई शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गरेर जित सुनिश्चित गरेका हौं।’  

अध्यक्ष दाहालले नेपालमा प्रतिक्रान्तिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला गरेको दाबी गरे। उनले ठूलो बलिदानपछि प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले त्यसलाई एकताबद्ध भएर रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मूल आवश्यकता भएको उनको भनाइ थियो।

यसैबीच अध्यक्ष दाहाल जनता समाजवादी पार्टी संघीय जनपरिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा पनि सहभागी भए। उनले सो कार्यक्रममा डा. भट्टराई र आफू अलग हुन खोज्दा पनि चुम्बकले तानेजस्तो गरी नजिक बनाइराखेको बताए। ‘अहिले बाबुरामजी र म एउटै पार्टीमा त छैनौं तर मुद्दाको हिसाबले हामी फेरि एउटै मोर्चामा छौं,’ दाहालले भने।  

उनले अहिले संविधान संकटमा परेका कारण यसलाई जोगाउनु हामी सबैको कर्तव्य भएको बताए। डा. भट्टराईले लेखेको ‘गुमनाम आमाहरू’ नामक पुस्तक विमोचन कार्यक्रममा कांगेस नेता रामचन्द्र पौडेलले संसद् पुनस्र्थापना हुने दाबी गरे। सर्वोच्च अदालतबाट संसद् पुनस्र्थापना हुने दाबी गर्दै पौडेलले अन्यथा फैसला हुने हो कि भन्ने आशंका भने कायम रहेको बताए। ‘अदालतले अर्कै फैसला गर्ने हो कि भनेर सोच्नुपर्ने अवस्था छ तर त्यसका लागि कहीं ठाउँ नै छैन,’ पौडेलले भने। पुस्तक लेखक डा. भट्टराईले ‘जनयुद्ध’ गरेका कारण कतिपय मानिसले आफूहरूलाई हेग जानुपर्ने बताउँदै आएको तर क्रान्ति गरेकै कारण हेग जानुनपर्ने बताए।

प्रकाशित: २ फाल्गुन २०७७ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App