२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फेरि तात्न थाल्यो सडक

पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो । 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा, राप्रपालगायत मूलधारका पार्टीले संसद् विघटन रोक्न प्रदर्शन थालेसँगै उपत्यकाको सडकमा भीडभाड बढ्न थालेको छ । अहिले नेकपाकै शीर्ष नेताहरूका विभिन्न गुट सडक प्रदर्शनमा उत्रने गरेका छन् । कोरोना संक्रमणले देशलाई गाँजिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि त्यसको विरोध गर्दै सडकमा आउने सर्वसाधारण तथा राजनीतिककर्मीको संख्या बढ्दो छ । उनीहरूले सहरका चोकचोकमा विरोध प्रदर्शन तथा र्‍यालीहरू आयोजना गर्दै आएका छन् ।

यसैबीच विकसित राजनीतिक घटनाक्रमसँगै सडकमा विरोध तथा प्रदर्शनजन्य गतिविधि बढ्न थालेपछि उपत्यकाको सुरक्षा अवस्था थप कडा बनाइएको छ । भिआइपीको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । राजनीतिक विवादपछि ओलीको ओहोरदोहोरमा सडक खाली गर्न थालिएको छ । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको निजी सुरक्षामा पनि थप कडा पारिएको छ । राजनीतिक विवादपछि हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर शीर्ष नेताहरू कार्यकर्ता र सुरक्षाकर्मीको आड लिएर मात्र सडकमा निस्कने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी वसन्त कुँवरले उपत्यकाको सुरक्षा मजबुत बनाइएको जानकारी दिए । ‘सुरक्षा अवस्था कडा पार्नु अहिलेको आवश्यकता हो । सडकमा सुरक्षा दिनुका साथै आपराधिक गतिविधि हुन नदिनु प्रहरीको दायित्व हो,’ उनले भने, ‘उपत्यकाका सबैजसो प्रहरी कार्यालयका जनशक्तिलाई सडक केन्द्रित गरिएको छ ।’ उनका अनुसार बालुवाटार, शीतलनिवास र खुमलटार क्षेत्रमा पहिलेभन्दा सुरक्षाकर्मी बढाइएको छ । नयाँ बानेश्वर, माइतीघर, सुन्धारा, सिंहदरबार, कोटेश्वर, दरबारमार्गलगायत क्षेत्रमा पनि सुरक्षाकर्मी बढाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले समयानुकूल सुरक्षा अवस्थामा कडाइ गरिएको जानकारी दिए । राजनीतिकर्मीको सुरक्षामा थप प्रहरी परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार परिसरले अहिले राजनीतिक माहोललाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरेको छ । अन्य आपराधिक गतिविधिको अनुसन्धानमा रहेका प्रहरीलाई समेत सडकमा खटाउन थालिएको छ । राजनीतिक घटनाक्रम बढेपछि प्रहरी पनि यसमै खटिन बाध्य भएको हो । ‘अहिले हाम्रो सुरक्षा फौज सडक र राजनीतिक गतिविधि केन्द्रित भइरहेको छ,’ उनले भने, ‘यस्तो समयमा प्रहरी बढी सतर्क हुने नै भयो ।’

अहिले उपत्यकाका मुख्य सहरी चोक र सडकहरूमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । विघटनपछि भइरहेका विरोध, प्रदर्शन, र्‍यालीजस्ता कार्यक्रमलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा योजना अघि बढाएको हो । उपत्यकामा ५ हजार ६ सयभन्दा बढी सुरक्षाकर्मी सडकमा तैनाथ गरिएको छ । त्यस्तै भित्री गल्लीहरूको सुरक्षामा पनि कडाइ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत आइतबारदेखि प्रहरीले उपत्यकाको सुरक्षा कडा पारेका हो । दाहाल निवास खुमलटार क्षेत्रको सुरक्षा अवस्थालाई पनि प्रहरीले ‘हाई अलर्ट’मा राखेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुर र भक्तपुरले पनि जिल्लाको सुरक्षा व्यवस्थामा थप कडाइ गरेको जनाइएको छ । राजनीतिक अवस्था बिग्रिएपछि हुने प्रदर्शन तथा अराजक क्रियाकलाप रोक्न उपत्यकाका तीनवटै जिल्लाका सिडिओ र प्रहरी प्रमुखबीच हरेक दिन १० बजे सुरक्षा व्यवस्थापन र परिचालनबारे छलफल हुने गरेको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले हालको सुरक्षा अवस्थालाई व्यवस्थापन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयको रहेको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सुरक्षा आफैं परिचालन गर्न सक्ने बताए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार संसद् विघटन गरेपछि त्यसको विरोधमा निरन्तर प्रदर्शन र आन्दोलनहरू भइरहेका छन् । उपत्यकामा प्रदर्शन बढेपछि प्रहरीले सुरक्षा व्यवस्था पनि कडा पारेको हो ।

प्रकाशित: १४ पुस २०७७ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App