१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चीनको आरोप : नेपाली कांग्रेस, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न सक्रिय

चीनले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिले नेपाल–चीनबीच सीमा विवाद गराउन उक्साइरहेको आरोप लगाएको छ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले हुम्लामा चीनले नेपालको सीमाना मिचेको भन्ने गलत हल्ला फैलाउन नेपालको राजनीतिक दल नेपाली कांग्रेस, भारत र पश्चिमा शक्ति लागेको आरोप लगाएको हो।  

हुम्लासँग सीमा जोडिएको क्षेत्रमा चीनका सेनाले नेपालको भूमि मिचेर भवन बनाएको भन्‍ने ‘आधारहीन’ समाचार प्रकाशन÷प्रसारण गराएर उनीहरूले नेपाल र चीनबीच विवाद बढाउन खोजेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।  

‘हु इज बिहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्टस् प्रोभोकिङ नेपाल एग्‍नेस्ट चाइना?’ (चीनविरुद्ध नेपाललाई उक्साउन मनगढन्ते रिपोर्ट बनाउनेपछाडि को छ?)  शीर्षकमा ग्लोबल टाइम्सले लेखेको छ– भारतपक्षधर पहिचान बनाएका नेपाली कांग्रेस र तिनका नेताले सीमा अतिक्रमणको गलत हल्ला फैलाइरहेका छन्।’  

कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले यसको नेतृत्व गरिरहेको आरोप ग्लोबल टाइम्सले लगाएको छ। उनैको नेतृत्वमा कांग्रेसका स्थानीय नेताको टोलीले हुम्लास्थित सीमा क्षेत्र अवलोकन गरी  चीनले सीमा मिचेको ठहर गर्दै पार्टीमा प्रतिवेदन बुझाएको थियो।  

काठमाडौंका एक स्थानीयको भनाइ उधृत गर्दै ग्लोबल टाइम्सले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालमा विभिन्न गैरसरकारी संस्था सक्रिय रहेको दाबी गरेको छ। साथै केही भारतीय टेलिभिजनले नेपाल–चीन सम्बन्धमा खेल खेल्न खोजेको आरोप पनि लगाइएको छ।  

लेखिएको छ- ‘नेपाल एउटा सानो देश हो। जहाँ भारत र पश्चिमा मुलुक  आफ्नो प्रभाव जमाउन लागिरहेका छन्।’ 

तर चिनियाँ दूतावास तथा नेपाल सरकारले भूमि नमिचिएको बताइसकेका छन्। 

प्रकाशित: २६ कार्तिक २०७७ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App