२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहाल पक्षधरद्वारा नेकपा सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन सामूहि आग्रह गर्ने निर्णय गर्दै टुंगिएको छ। सो अनौपचारिक बैठकमा सहभागी भएका पाँच जना सचिवालय सदस्यले कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्ने र त्यसका लागि पाँचै जना सदस्यहरुले शनिवार भेटघाट गर्ने निर्णय गरेका छन्।

अनौपचारिक बैठक प्रधानमन्त्री ओलीकै सहमतिमा गरिएको जानकारी सहभागीहरुलाई दाहालले बैठकमा गराएका थिए। औपचारिक बैठक राखेमा त्यहि नै पार्टी फूटको बिन्दू हुने भनी ओलीले आफूलाई बताएका कारण अनौपचारिक बैठक राखिएको नेताहरुलाई बताएका थिए। बैठकमा प्रधानमन्त्री ओलीसहित रामबहादुर थापा, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य इश्वर पोखरेलको सहभागिता थिएन।  

दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए। पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएपछि बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए।  

पछिल्लो समय दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउनको लागि दबाब दिइरहेका थिए। तर ओलीले भने सचिवालय बैठकको आवश्यकता नरहेको भन्दै टार्दै आएका थिए। बिहीबार मात्रै दुई अध्यक्षबीच छलफल भएको थियो। सो छलफलमा समेत प्रचण्ड सबै कुरा सचिवालयमा गरौं भन्दा ओलीले नमानेको बताइन्छ।  

पछिल्लो समय सचिवालयका ६ सदस्य प्रचण्ड समूहमा छन्। विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको सम्बन्ध तिक्ततापूर्ण हुँदै गएको छ। शीर्ष नेताहरुमा विवाद देखिएपछि दोस्रो र तेस्रो तहका नेताहरुले विवाद मिलाउने प्रयास गरिरहेका छन्।

प्रकाशित: २१ कार्तिक २०७७ ११:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App