५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सत्ता टिकाउन ओली समर्थक सडकमा, सामाजिक सञ्जालमा विरोध

प्रतिपक्षी दलसम्बद्ध र केही स्वतन्त्र युवाले सरकारविरुद्ध प्रदर्शन र विरोध गरिरहेकै बेला बुधबार काठमाडौंमा समर्थनमा प्रदर्शन गरिएको छ। सरकारका गतिविधिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा माग राखेर एक महिनादेखि उपत्यकालगायत मुलुकका विभिन्न भागमा युवा सडकमा उत्रिएका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध र स्वतन्त्र युवा सरकारको विरोधमा सडकमा उत्रिरहेका बेला बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थक सडकमा निस्किए। नेकपानिकट केही युवा सरकार र प्रधानमन्त्री ओलीको पक्षमा सडकमा उत्रिएका हुन्।  

किरण पौडेल नेतृत्वमा सरकारको समर्थनमा भएको प्रदर्शनमा युवा संघमा आबद्ध युवा बढी थिए। ‘सरकारले काम नगरेको होइन, राम्रा काम नदेख्ने, खाली विरोध मात्रै गर्ने तत्व देशकै भाइरस हुन्,’ प्रदर्शनको नेतृत्व गरेका पौडेलले भने, ‘सरकारलाई जिम्मेवार र होसियार बनाउनु एउटा कुरा होला तर राम्रा कामको विरोध गर्नु कसैका लागि फाइदाको कुरा होइन।’  

सत्ता समर्थक प्रदर्शनकारीले प्रधानमन्त्री एव नेकपा अध्यक्ष ओलीसहितको व्यानर बोकेका थिए। पछिल्लो समय लगातार देशभर सरकार र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन हुन थालेपछि सरकार समर्थक सडकमा आएका हुन्। ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि, वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ लगायत नारा प्रदर्शनकारीले लगाएका थिए। ‘अहिले सरकारले कामै नगरेको होइन, राम्रा पक्षहरू सबै छोपेर सत्ता कमजोर बनाउने खेल भइरहेको छ,’ प्रदर्शनकारी रमेश मानन्धरले भने।  

सरकारको पक्षमा नेकपानिकट युवा संघको अगुवाइमा प्रदर्शन भएको हो। सरकारविरुद्ध काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न ठाउँ युवा अनसन बसेका छन्। पोखरामा पनि सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै युवाले बिहीबार रिले अनशन थालेका छन्। काठमाडौंमा केही युवा सात दिनदेखि अनसनमा छन्।  

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले केही युवाले सरकारको विपक्षमा विरोध गरिरहेका बेला केहीले पक्षमा प्रदर्शन गरेको बताए। ‘अहिले प्रदर्शन भइरहेका छन्, कतै सरकारको पक्षमा त कतै विपक्षमा,’ उनले भने।  

सामाजिक सञ्जालमा विरोध

सरकारले बिहीबार संघीय संसद्को अधिवेशन हठात अन्त्य गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध गरिएको छ। यो कदमको सर्वसाधारण नागरिक र नेतासम्मले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन्। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सामाजिक सञ्जालमा संघीय संसद्को चालु अधिवेशन अप्रत्यासित रूपमा अन्त्य हुनु गम्भीर विषय भएको तर्क राखेका छन्। उनले ट्विट गरेका छन्, ‘संसद्मा थुप्रै विधेयक कार्यसूचीमा र प्रक्रियामा छन्, कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन्। पार्टीभित्रको किचलोको अचानोमा संसद् ! संसद्लाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुष्प्रयास नहोस्।’  

डा. विजय पौडेलले कार्यकर्ताले सग्लो नेकपा चाहिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओलीको ध्यान पार्टी विभाजनतर्फ गइरहेको टिप्पणी गरेका छन्। उनले ट्विट गरेका छन्, ‘कार्यकर्ता सग्लो राजनीति चाहन्छन् तर पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूका गतिविधि विभाजनतर्फ देखिए, यो गलत हो, यतातिर नलाग्नुस् साथीहरू।’ गायक प्रमोद खरेलले बालुवाटार र खुमलटारलाई गीतिशैलीमा व्यंग्य गरेका छन्। उनले ट्विट गरेका छन्, ‘कहिले यताकोले बटार, कहिले उताकोले बटार, दुईतिहाइ दिएकै हो, फेरि उही लटारपटार।’ 

प्रकाशित: १९ असार २०७७ ०३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App