मंलबारको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेकोमा उदयपुरका बौद्धिकदेखि सर्वसाधारणसम्मले खुसी व्यक्त गर्दै सरकारलाई धन्यबाद दिएका छन् । जिल्लावासी सरोकारवालाले नयाँ नक्सा बनाएर मात्र नहुने भन्दै तत्काल कूटनीतिक तबरले भारतसँग वार्ता गरी दीर्घकालीन सीमा विबाद समाधान गर्नुपर्नेमा समेत जोड दिएका छन् ।
प्रधानमन्त्री केपी शार्मा ओलीले ‘देखाउन मात्र नक्सा बनाएको नभई कार्यान्वयनमा पनि ल्याउने’ बचन दिँदैगर्दा सरकारको सो भनाइ छिटोभन्दा छिटो व्यवहारमा परिणत गर्नुपर्नेमा उनीहरुको जोड छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका सहप्राध्यापक डा. कैलाशकुमार राईले यो ऐतिहासिक काम भएको भन्दै अव वर्षौंदेखि गुमेको नेपाली भूमि फिर्ता गर्न कूटनीतिक ढंगले भारतसँग वार्ता गर्दै व्यावहारिक कदम चाल्न तदारुकता अपनाउनुपर्ने बताए ।
‘नयाँ नक्सा बनाएर मन्त्रिपरिषद्बाट पास गर्नु पनि ऐतिहासिक कदम हो,’ डा. राईले भने, ‘अव प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आँखा जुझाएर वार्ता गर्दै गुमेको नेपाली भूभाग र त्यहाँका जनतालाई वास्तविक नेपाली हुँ भन्ने अनुभूति दिलाउनुपर्छ ।’ स्पष्ट बहुमतको सरकारको सार्थकता यो कदमले पुष्टि गरेको भन्दै अझै यस्ता थुप्रै राष्ट्रियता र जनजीविकाका सवालमा क्रमशः खरो उत्रदै अघि बढ्न सरकारलाई डा. राईको शुभेच्छासहितको सुझाव छ ।
जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले सुगौली सन्धिले दिलाएको भूभाग धेरै पहिलेदेखि गुमेकोमा फिर्ता गर्न सरकारको कदम ऐतिहासिक भएको भन्दै यो निर्णयले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको बताए । परियारले राणाकालदेखि पञ्चायत, बहुदलकालभरी राष्ट्रियताका विषयमा धेरै माथापच्ची चलेको भए पनि यस्तो राष्ट्रबादी निर्णय नभएको भन्दै संघीयता र गणतान्त्रिककालीन सरकारले गरेको यो निर्णय इतिहासमा स्वर्णाक्षरले लेखिने बताए ।
सरकारको यो निर्णयप्रति युवा, विद्यार्थी, अधिकारकर्मी, पत्रकार, कर्मचारी, व्यापारी, पेशा व्यवसायीदेखि सर्वसाधारणसम्मलाई खुसी तुल्याएको छ । जिल्ला युवा समिति अध्यक्ष खगेन्द्र पोखरेलले विद्यार्थीकालमा पटकपटक राष्ट्रियताको नारा लगाउँदै आन्दोलन गर्नुपरेको स्मरण गर्दै आफुहरुले किताबमा पढेको गलत नक्शा सच्याएको निर्णयले युवा विद्यार्थी मात्र नभएर सम्पूर्ण नेपालीलाई गर्वानुभूति भएको बताए । अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य महेश रोकाले राष्ट्रियताको खातिर नेपाली युवा, विद्यार्थी र राष्ट्रबादी समूहले धेरै चोटी आन्दोलन गर्दा धरपकड, अंगभंग र घाइते हुनुपरेको स्मरण गर्दै तमाम जनताको माग सम्बोधन गर्दै सरकारले गुमेको कालापानीक्षेत्र फर्काउने अठोट लिएकोमा असीमित धन्यबाद दिनुपर्ने बताए ।
प्रकाशित: ७ जेष्ठ २०७७ ०२:२७ बुधबार