९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सकेन : रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बहानामा सरकार सांसदको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन नसकेको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायत सावधान अपनाउनुपर्नेमा सांसदलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएकोप्रति उनको आपत्ति थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रिजालले सरकार, संसद् र सांसदप्रति जिम्मेवार नरहेको आरोप लगाए । उनले भने, ‘झन्डै ३ घण्टा लगाएर सरकारको नीति र कार्यक्रम वाचन भयो । संवेदनशीलताको पराकाष्ठा हो । संसद्को सुरक्षा एउटा व्यक्तिको सुरक्षा होइन । एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ । पुरै घारलाई फैलियो भने यो संसद् क्वारेन्टिनमा जानुपर्ने हुन्छ ।’

उनले नीति तथा कार्यक्रम स्रोत साधनले धान्न नसक्ने उच्च आंकाक्षाको दस्तावेज भएको टिप्पणी गरे । उनका अनुसार अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रम केन्द्रित हुन सकेको छैन ।

रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २ सय ७६ सम्म नै संशोधन गरिनुपर्ने बताए । बुँदा नम्बर ११, १९ र २ सय ३१ मा उनको  असहमति रहेको छ ।

अघिल्लो वर्ष र यो वर्ष सरकारका नीति तथा कार्यक्रम ‘केही उस्तै केही दुरुस्तै’ भएको उनको टिप्पणी थियो । नीति तथा कार्यक्रममा २०९९ मा नेपाल समुन्नत राष्ट्र बन्ने राखिनु सरकारको चरम संवेदनहीनता भएको उनको दाबी थियो ।

अरूलाई दोष दिएर सरकार उम्कन नमिल्ने भन्दै जिम्मेवारी वहन गर्न उनले सुझाव दिए । उनले भने, ‘घुसका लागि मोलमोलाइ गर्नेलाई पन्छाउन नपाउँदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई यो सरकारले बेहोर्नुपर्छ ।’

त्यस्तै, उनले लकडाउनले जनजीवन प्रभावित बन्दै जाँदा भोकै बस्न बाध्य भएकामा प्राण भर्ने आधार बन्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्री नेपाली जनताका लागि ज्ञानी बन्नुहोस् । त्यही ज्ञानी बन्नुहुन्छ भन्ने आधारले तपार्इंलाई जनताले मत दिएर यो ठाउँमा पुर्याइएको हो । जनताको विवेकको अपमान नगर्नुहोस् ।’

उनले लोकतन्त्रका अगाडि कुनै पनि विशेषण नराखी लोकतन्त्रको बाटोमा अघि बढ्न सुझाव दिए । सरकारले मुलुकमा राजनीतिक स्थायित्वका  पत्रकार र सञ्चार जगत्लाई मर्यादित बनाउने भनेको उल्लेख गर्दे उनले सरकार स्वयंलाई मर्यादित बन्न आग्रह गरे ।

उनले भने, ‘सरकारले पत्रकार र सञ्चार जगत्लाई मर्यादित र अनुशासित  बनाउनुपर्दैन । सरकार अनुशासित होस् । सरकार मर्यादित होस् । सरकारले पत्रकार र सञ्चार जगत्को चिन्ता गर्नुपर्दैन ।’

उनले भने, ‘सीमा अतिक्रमण भएको छ । तर, सरकारले  कागजको नक्सामा मात्रै सीमा फर्काउँछ । त्यही बहानाका लागि नीति कार्यक्रमको पुछारमा सीमा अतिक्रमणको विषयमा लेखिएको छ ।’

प्रकाशित: ४ जेष्ठ २०७७ ०९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App