१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिशोध राख्दै उजुरी दर्ता

काठमाडौं - आफू अपहरणमा परेको दाबीसहित सांसद डा. सुरेन्द्र यादवले उजुरी दर्ता गराएलगत्तै आरोपी भनिएका सांसदद्धय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ता गराएको उजुरीलाई न्यायिक क्षेत्रका विज्ञहरुले ‘काउन्टर’को रुपमा लिइएको बताएका छन् । जनता समाजवादी पार्टीका सांसद डा. यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी उजुरी सोमबार सरकारी वकिल कार्यालयमा दर्ता भएको थियो । त्यसलगत्तैसत्तारुढ दल नेकपाका सांसदद्धय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरीमहानिरीक्षक खनालपनि मुद्दा दर्ता गराउन सरकारी वकिलको कार्यालय पुगेका थिए । उनीहरुलेसोमबार नै डा. यादव, बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डेविरुद्ध साइबर अपराध तथा गाली बेइज्जतीसम्बन्धीमुद्दा दर्ता गराएको अधिवक्ता दिनेश त्रिपाठीले बताए । उनले पीडित पक्ष जहाँ–जहाँ पुगेको छ, त्यहाँ त्यहाँ पीडक भनिएको पक्ष पुगेर जाहेरी दिएको बताए । ‘सुरुमा यादवको उजुरी दुवै कार्यालयले दर्ता गरेनन् तर उनीहरुको उजुरी एकैपटक दर्ता भयो, यसमा पनि षड्यन्त्र नै छ,’ उनले भने । 

‘शक्तिमा बसेका व्यक्तिहरुले गरेको यो तरिका पटक्कै सुहाउँदो छैन, कानुन र विधिको शासनमाथि मजाक भइरहेको छ ।’ -शुशीला कार्की, पूर्व प्रधानन्यायधीश,

सत्ताधारी सांसदको यस्तो कार्यलाई भने पूर्वप्रधानन्यायधीश र कानुनविद्ले नै रुचाएका छैनन् । न्यायिक प्रणालीमा सत्तापक्षबाट कल्पनै गर्न नसकिने दुरुपयोग भएको उनीहरुको निष्कर्ष छ । पूर्वप्रधानन्यायधीश शुशिला कार्कीले सांसदले नै आफू अपहरणमा परेको दाबी गर्दापनि सत्तापक्षले त्यसलाई नजरअन्दाज गरेको बताइन् । उनले सरकारले पछिल्लोसमय गरेको क्रियाकलाप नसुहाउँदोे  भएको आरोप लगाइन् । ‘शक्तिमा बसेका व्यक्तिहरुले गरेको यो तरिका पटक्कै सुहाउँदो छैन, कानुन र विधिको शासनमाथि मजाक भइरहेको छ, महामारीको बेला सरकारले कानुन र जनतामाथि नै अपराध गरेको छ,’ उनले भनिन् । 

उनले पूर्वप्रहरीमहानिरीक्षक नै यस्तो कार्यमा जोडिएकोले उनको हिजोका कार्यकालप्रति नै गम्भीर प्रश्न उठेको बताइन् । शक्तिमा नहुँदा त यस्तो काम गर्नेले हिजो प्रहरीको शक्तिशाली पदमा हुँदा के गरेका होलान्् भन्ने विषयले सोचमग्न बनाएको उनको भनाइ छ । ‘यो सरकारको खेल बुझिनसक्नुको छ, कस्को सरकार बन्ने भन्ने चर्चा भइरहेको छ, के अहिले यस्तै चर्चा हुने बेला हो?,’ उनले भन्नि । उनले पीडित पक्षले सुरुमा अन्याय भएको उजुरी दर्ता गर्नासाथ पीडक पक्ष भनिकाले दिएको उजुरी प्रतिशोध नै रहेको बताइन् ।

‘उजुरी लिने काम प्रहरीको हो, लिन्न भन्ने अधिकार छैन, उजुरी नलिएको प्रहरीले अब उक्त विषयमा स्वच्छ अनुसन्धान गर्ला भन्नेमा प्रश्न नै छ ।’ -सुनिल पोख्रेल, कानुनविद् 

कानुनविद् सुनिल पोख्रेलले प्रहरीले सुरुमै उजुरी दर्ता नगराएर गडबड गराएको बताए । उनले उजुरी लिन्न भन्ने अधिकार प्रहरीलाई नभएपनि सांसदको उजुरी नलिनु दुःखद् रहेको बताए । ‘उजुरी लिने काम प्रहरीको हो, लिन्न भन्ने अधिकार छैन, उजुरी नलिएको प्रहरीले अब उक्त विषयमा स्वच्छ अनुसन्धान गर्ला भन्ने विषयमा प्रश्न नै छ,’ उनले भने । 

अधिवक्ता सरोज गिरीले पीडितले उजुरी दिएलगत्तै पीडक भनिएका व्यक्तिले पनि उजुरी दिनु त्यति सुहाउँदो विषय नभएको बताए । यस्तो गम्भीर विषयलाई कमजोर पार्ने खेलमा सत्तापक्षका व्यक्तिबाट प्रपञ्च भएको उनले तर्क छ । 
बस्नेत, श्रेष्ठ र खनालले सांसद डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन पठाएको भन्दै १० वैशाखमा महोत्तरीबाट काठमाडांैं ल्याएका थिए । सांसद यावदले आफ्नो इच्छाविपरीत काठमाडौं ल्याइएको बताउँदै आएका छन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –१७ अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरअनुसार कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई, झुक्यानमा पारी, नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा त्यो अपहरण मानिन्छ ।

यादवले अपहरण शैलीमा आफूलाई काठमाडौं ल्याइएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा वैशाख १४ गते मुद्दा दर्ता गर्न पुगेका थिए । पीडित सांसद यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित जनता सामाजवादी पार्टीका नेताहरुको उजुरी परिसरले अस्वीकार गरेको थियो । प्रहरीले जाहेरी नलिएपछि दोस्रो विकल्पमा पीडितहरु गत मंगलबार सरकारी वकिलको कार्यालय गएका थिए । तर, सरकारी वकीलको कार्यालयले पनि समय माग गर्दै मुद्दा दर्ता गर्न अटेरी गरेको थियो । दुई सरकारी निकायमा पुग्दा मुद्दा दर्ता नभएपछि पीडित सांसद यादव बिहीबार राष्ट्रिय मानव अधिकार आयोग पुगेका थिए ।

पूर्वडिआइजी हेमन्त मल्लले प्रहरी कार्यालयले यस्तो अवस्थामा मुद्दालाई जसरीपनि अघि बढाउनुपर्ने बताए । उनले प्रहरीले स्वतन्त्र ढंगले छानबिन गर्दामात्रै पीडितले न्याय पाउने हुँदा त्यसबारेमा चासो दिन आग्रह पनि गरे । तर जुन व्यक्तिविरुद्धको मुद्दा छ र जुन खेलका लागि यो काम भएको हो त्यो हेर्दा सोचेजसरी मुुद्दा अघि बढ्ने सम्भावना नदेखिएको उनको भनाइ छ । यसमा सरकारकै मुख्य हात देखिएकोले यस्ता विषयमा प्रहरीले पनि स्वच्छ भएर काम गर्न पाउँदैन,’ उनले भने । 

आरोपी सांसद महेश बस्नेतले आफूहरुले गरेको कार्यलाई अपहरण भन्न नमिल्ने दाबी गरे । उनले आफूमाथि घनघोर गाली बेइज्जती र साइवर अपराध भएको बताए । ‘मिलेको भए मेला हुन्थ्यो नमिलेर झमेला भएको हो, हामीले अपहरण गरेका होइनौं, उल्टो हामीमाथि अन्याय भएको छ,’ उनले भने, ‘बाबुराम भट्टराई, सुरेन्द्र यादव, विश्वदीप पाण्डे, हिसिला यमीलाई कडा कारबाही हुनुपर्छ ।’ 

प्रकाशित: २५ वैशाख २०७७ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App