२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन आग्रह

फाइल तस्बिर

काठमाडौं - उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण नदखिए पनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरुले गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्ना समस्याहरु स्पस्टसँग राख्न आग्रह गरेका छन्।। उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले सरकारले व्यवसायीहरुलाई सक्दो सहयोग गर्ने आश्वासन दिदै व्यवसायीहरुपनि इमान्दार भएर समस्याको समाधान गर्न सहयोग गर्नुपर्ने बताए।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन्। उनले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सि रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइन्। उनले होटल संघ नेपालमा आवद्ध भएका होटलहरुले मासिक १ अर्ब ८० करोड रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको जानकारी दिइन्।

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेस्वर थापाले तीन क्याटागोरीको एयरलाइन्स रहेकोमा सबैभन्दा बढी हेलिकोप्टर व्यवसायको बिजनेस घटेको बताए। उनले हेलिकोप्टर व्यवसायमा ९० प्रतिशत, सर्ट टेकअफ स्टलमा ६० प्रतिशत र ट्रंकरुटमा २० प्रतिशत सम्मको बिजनेस घटेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेको र एयर टिकेटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए। उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेको बताए।

नोभल कोरोना भाइरसको संक्रमण विश्वभर फेलिएपछि नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको छ। व्यवसायीहरुले छोटो सयमा देखिएको संकटले व्यवसायीक क्षेत्रमा एक दुई वर्षसम्म असर पार्न सक्ने भन्दै सरकारले सहयोग गर्नुपर्ने बताएका छन्।

प्रकाशित: ३ चैत्र २०७६ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App