६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने समय आयो: कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्रसहितको परिवर्तनको रक्षाका लागि पार्टीले फेरि एकपटक कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने समय आएको बताएका छन्। पार्टी नेता महेन्द्रनारायण निधिको ९८औं जन्मजयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस नेताहरूले सरकार अधिनायकवादी बाटोमा अघि बढेको भन्दै लोकतान्त्रिक शासन व्यवस्थाका लागि फेरि लड्नुपर्ने अवस्था आएको दाबी गरेका हुन्।

संविधानसभाबाट जारी संविधानको दुरुपयोग गर्दै सरकार मुलुकमा जनवादी केन्द्रीयता स्थापनाको बाटोमा अघि बढेको आरोप लगाउँदै नेताहरूले त्यसकाविरुद्ध अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने अवस्था आएको जनाएका छन्। सरकारको भ्रष्ट प्रवृति र पछिल्लो कार्यशैलीले लोकतन्त्र र जनताको अधिकार नै कमजोर बनाएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको छ। पिसफुल वातावरण नभएपछि आन्दोलन लड्नै पर्छ। कांग्रेसले लड्ने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ।’ हिंसाबाटमुक्त समाज निर्माण र प्रजातन्त्रका लागि कांग्रेसले कुनै पनि प्रकारको सम्झौता नगर्ने पनि देउवाले बताए।

सभापति देउवाले फरक प्रसंगमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन अघि तत्कालीन माओवादी केन्द्रलाई नेकपा एमालेसँग छुटाएर ल्याए पनि पार्टीकै नेताका कारण उनीहरू भड्किएर गएको गुनासो गरे। ‘मैले माओवादीलाई आफूसँग ल्याएकै हुँ तर, साथीहरूले भगाइदिए,’ उनले भने, ‘उनीहरू (माओवादी र एमाले) मिल्दा हामी चुनाव हा-यौ।’ दुई पार्टी मिल्दा पार्टीले चुनाव हारेको जान्दाजान्दै नेताहरूले नबुझे जस्तो गरेको पनि उनले गुनासो गरे।

पार्टीमा विगतदेखि नै विवाद रहेको सुनाउँदै देउवाले आफ्नै कारणले मात्र विवाद भएको आरोप लाग्ने गरेको भन्दै उनले त्यसको प्रतिवाद गरे। विपी कोइरालाकै पालादेखि पार्टीमा विवाद रहेको सुनाउँदै उनले भने, ‘पार्टीको झगडा पहिलेबाटै आएको हो। झगडाका बारेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालाई थाहा होला। गणेशमानले पार्टीमा छैन भनेको हो भने भट्टराईले पार्टी छाडेकै हो।’

कार्यक्रमा उपसभापति विमलेन्द्र निधिले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले नेपाललाई कम्युनिस्ट स्टेट बनाउन खोजेको आरोप लगाए। जनवादी केन्द्रीयतालाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्ने कम्युनिस्टले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिइरहेको उनले आरोप लगाए। ‘सरकारले गरिरहेको भ्रष्टाचार, एकपछि अर्को गरी ल्याइरहेको विवादस्पद विधेयक, विवादस्पद निर्णय सबै हेर्दा सरकार अधिनायवादतर्फ उन्मुख छ,’ उनले भने, ‘त्यसकाविरुद्ध पार्टी एकताद्ध भएर लाग्नुपर्छ।’ पार्टीको महाधिवेशन र कम्युनिस्टविरुद्धको लडाइलाई पार्टीले एकसाथ अघि बढाउनुपर्ने उनले बताए।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारबाट जनता आजित भए पनि कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्यो कि सकेन भन्ने स्वमूल्यांकन गर्ने बेला आएको बताए। जनअपेक्षाअनुसार अघि बढ्न नसक्दा प्रजातन्त्र स्थापनका लागि गठन भएको प्रजापरिषद् अहिले कहाँ छ भन्ने प्रश्न गर्दै सिंहले भने, ‘कांग्रेसले जनताको अपेक्षा अनुसारको काम ग¥यो कि गरेन भनेर मनन गर्नुपर्ने समय आएको छ। जनअपेक्षाअनुसार काम गर्न नसके कांग्रेस प्रजापरिषद् बन्छ कि भन्ने चिन्ता लागिरहन्छ।’ सरकारका पछिल्ला गतिविधि र संसद्मा पेस भएका विधेयकले वर्तमान सरकार जनवादी केन्द्रीयता लाद्न खोजेको भन्दै उनले थपे, ‘त्यसको फेस गर्नसक्ने कांग्रेस बनाउनुपर्छ।’ अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति र अहिंसाका माध्यमबाट आएको संविधानलाई वर्तमान सरकारले राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्र निर्माणमा प्रयोग गर्न छाडेर दुरुपयोग गरेको आरोप लगाए। सहमतिबाट आएको संविधान कम्युनिस्ट पार्टीको स्वार्थका लागि प्रयोग गरिरहेको जनाउँदै सिटौलाले त्यसविरुद्ध कांग्रेसले अब शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्न जरुरी भइसकेको दाबी गरे।

प्रकाशित: १४ फाल्गुन २०७६ ०१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App