४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

बिहीबारबाट नेकपाको सातै प्रदेशमा सभा सुरु

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आइतबारबाट सातै प्रदेशमा सभा र बैठक सुरु गरेको छ। फागुन ४ गतेदेखि २१ सम्म सातै प्रदेशमा सभा र बैठक गर्ने कार्यतालिकाअनुसार आइतबारबाट सभा सुरु गरेको हो। पार्टी अभियानका लागि नेकपाले प्रमुख नेतालाई जिम्मेवारी तोकेअनुसार प्रदेश ५ मा आइतबार बाँकेको कोहलपुरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, पार्टी महसचिव विष्णु प्रसाद पौडेलले सम्बोधन गरेर सुरु गरेका हुन्। पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार सातै प्रदेशका भेलामा दुवै अध्यक्ष आउनेगरी प्रदेशलाई सूचित गरिए अनुसार दाहाल कोहलपुर पुगेका हुन्। प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जान सम्भव नभए पनि अध्यक्ष पुष्पकमल दाहाल भने सबै कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ। केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश २ र बागमती, अर्का वरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली, उपाध्यक्ष वामदेव गौतम प्रदेश २ र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली, सचिवालय सदस्य ईश्वर पोखरेल प्रदेश २ र बागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश १ र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश १ र ५ मा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

४ फागुनमा प्रदेश ५ को कोहलपुरबाट सुरु भएको सभा २१ फागुनमा प्रदेश १ को विराटनगरमा समापन हुनेछ। उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय विशेष कमिटीको पनि छुट्टै भेला गर्ने नेकपाको तयारी छ। नेकपाले फागुन ४ र ५ गते प्रदेश ५, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश दुई, फागुन १२ र १३ गते गण्डकी र फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश एकमा प्रदेश कमिटीका बैठक तथा भेलाआयोजना गर्दैछ।

पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलोपटक हो। केन्द्रीय कमिटीको बैठकले सरकार पार्टीको सम्बन्ध सुमधुर बनाउन विशेष अभियान सुरु गर्ने निर्णय गरेको थियो। पार्टी कार्यालयका अनुसार यो अभियानभित्रै नेकपाले सदस्यता नवीकरण, बैठक, भेला, सम्पर्कमञ्च गठन जस्ता कार्यलाई पनि अघि बढाउनेछ।

प्रकाशित: ५ फाल्गुन २०७६ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App