विराटनगर- राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ मा तीनै जना नेकपाका उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा नेकपाका उम्मेदवारहरू गोपी अछामी, इन्दिरादेवी गौतम र देवेन्द्र दाहाल विजयी भएको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तिर्थ अधिकारीका अनुसार दलिततर्फका उम्मेदवार अछामिले ६ हजार ३ सय ३० मतभार ल्याएका छन्। उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका निरबहादुर विकले २ हजार ७ सय १८ र समाजवादीका ज्ञानबहादुर परियारले २ सय ६४ मतभार ल्याएका छन्।
यस्तै महिला तर्फ निर्वाचित इन्दिरा गौतमले ६ हजार ४ सय २६ मतभार ल्याएकी छिन्। उनकी निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसकी मिना पुलामी मगरले २ हजार ६ सय २२ र समाजवादीकी कमला वडाइले २ सय ६४ मतभार ल्याएकी छिन्। यस्तै अन्यतर्फबाट विजयी देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार ल्याएर विजयी भएका छन्।
यस्तै उनका निकटतम प्रतिश्पर्धी नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन्। प्रदेश सभाको बिहीबार सम्पन्न निर्वाचनमा अन्य तर्फ प्रदेशसभा सदस्यको एक मत बदर भएको छ। निर्वाचनमा प्रदेश सभातर्फ ९३ मध्ये ९२ मत खसेको थियो। यस्तै स्थानीय तह तर्फको २ सय ७४ मध्ये २ सय ७२ मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ।
मतदान नगर्नेमा प्रदेशसभा सदस्य गुलेफुन खातुन, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र संखुवासभा सिलिचोङ गाउँपालिका उपाध्यक्ष लालकुमारी राई मतदानमा सहभागी भएनन्।
प्रकाशित: ९ माघ २०७६ १४:१० बिहीबार