९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मतदाताको सहभागिता घट्दो

शनिबार रोल्पाको थवाङमा मतदान प्रक्रियामा रहेका एक मतदाता तस्बिरः नागरिक

पोखरा - लामो समयको अन्तरालपछि अढाई वर्षअघि स्थानीय तह निर्वाचन हुँदा कास्कीमा ७५ प्रतिशत मत खसेको थियो। मुलुककै ठुलो पोखरा महानगरपालिकासमेत पर्ने कास्कीमा स्थानीय निर्वाचनमा खसेको त्यो मत संख्यालाई औसतमा सन्तोषजनक मानिएको थियो।

स्थानीय तह निर्वाचन भएको साढे सात महिनापछि भएको प्रतिनिधि र प्रदेशससभा निर्वाचनमा कास्कीमा जम्मा ६७ प्रतिशत मत खसेको थियो। स्थानीय तहको तुलनामा आठ प्रतिशत मत कम खस्दा पनि प्रतिनिधि र प्रदेशसभाको मत संख्यालाई पनि त्यो बेला सन्तोषजनक नै मानिएको थियो।

तर प्रतिनिधि र प्रदेशसभाभन्दा अझै घटेर यो पटक उपनिर्वाचनमा कम मत खसेको छ। जबकि अघिल्लो पटकको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भन्दा उपनिर्वाचन भएको क्षेत्र कास्की–२ मा मतदाताको संख्या बढी थियो। यसअघिको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता रहेको कास्की–२ मा अहिले एक हजार दुई सय २० जना मतदाता थपिएर ७१ हजार आठ सय ७१ पुगेको थियो। तर मतदाताको संख्या बढ्दा पनि मत भने कम खसेको छ।

जुनसुकै दल वा नेतालाई विजयी गराए पनि विकास र सकारात्मक परिवर्तन जनताले पाएनन्। छलाङ मार्ने काम गफमा मात्र सीमित भयो भन्ने मतदाताको बुझाइ हुन थालेको छ।

रिक्त प्रतिनिधिसभा सदस्यका लागिमा कास्की–२ मा शनिबार उपनिर्वाचनतर्फ हुँदा ६१ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले ६१ प्रतिशतमात्र मत खसेको बताए। अघिल्लो पटकको प्रदेश र प्रतिनिधिसभामा भन्दा पनि यो उपनिर्वाचनमा कास्कीमा झन्डै ६ प्रतिशत कम मत खसेको हो।

पछिल्लो समय निर्वाचनमा खस्ने मतको संख्या घट्दो छ। किन घट्दो छ मत संख्या ? ‘जुनसुकै दललाई भोट दिए पनि जनताको जीवनस्तर उकासिने रहेनछ,’ एक मतदाताले भने, ‘जनताले मत नदिएर निराशाको अभिव्यक्ति व्यक्त गरे। त्यसैले मतदाता नै भोट दिन चासो राख्दैनन्।’ पोखरा महानगरपालिका–८ का मतदाता रहेका उनले यो पटक मत दिन नगएको समेत बताए।

‘जनतालो भार थोपरिन्छ, जनताको गाँस काटेर नेताले सुविधा लिन्छन्। फेरि अर्का एकजनालाई त्यही अवस्थामा पु¥याउन हामी मतदाता साक्षी बस्नुपर्ने अवस्था आयो। त्यसैले म मत दिन नै गइनँ,’ उनले भने, ‘मतदाताको मन जित्न दलहरूले सकेनन्। कुनै पनि दलले मतदाताको मत तान्न सक्ने काम गर्न सकेनन्। जनतामा निराशा ल्याउनेबाहेक नेताहरूले कामै गरेनन्।’

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल पछिल्लो समय मतदाताहरू राजनीतिक दल र उनीहरूका नेता तथा गतिविधिप्रति निराश हुँदै जाँदा मतदानमा सहभागी हुन छाडेको बताउँछन्। ‘जुनसुकै दल वा नेतालाई विजयी गराए पनि विकास र सकारात्मक परिवर्तन जनताले पाएनन्। छलाङ मार्ने काम गफमा मात्र सीमित भयो भन्ने मतदाताको बुझाइ हुन थालेको छ,’ प्राध्यापक दाहालले भने, ‘जुनसुकै दल वा जो कोही उ भए पनि परिवर्तन नदेखेका मतदाताले राजनीतिक प्रणालीलाई बेवास्ता गर्न थाल्दा मतदानमा कम सहभागिता देखिएको हो।’

राजनीतिमा मतदाताले विकल्प नदेखेकोले सत्ता राजनीतिका गतिविधिप्रति वितृष्ण बढेको उनले बताए। ‘जसलाई भोट दिए पनि परिवर्तन आउन सकेन भन्दै मतदाता निराश छन्। जनताको सहभागितामा असल तरिकाको संस्कार नेताहरूले सिकाउन सकेनन्,’ उनले भने, ‘त्यसको असर मतदानमा देखिन्छ।’

यो पटकको उपनिर्वाचन विशेष परिस्थितिमा भएको हो। यो चुनावमा जो कोहीले जिते पनि सरकार बन्ने र परिवर्तन हुँदैन भन्ने मतदाताले बुझेकोले पनि मतदानमा चासो कम देखाएको हुनसक्ने उनले बताए। ‘कुनै पनि दलका उम्मेदवारले निर्वाचन जित्दा सरकार सञ्चालनमा कुनै फरक पार्दैन भन्ने मतदाताले बुझेका छन्। ‘न्युट्रल भोटर (तटस्थ मतदाता) हरूले मतदानमा सहभागी भए वा नभए पनि केही फरक पर्दैन भन्ने गरेका छन्,’ दाहालको विश्लेषण छ, ‘त्यसले गर्दा पनि यो चुनावमा मतदाता कम सहभागी भएका हुन्।’

तथापि निर्वाचनमा ६० प्रतिशत मत कट्नुलाई राम्रो सहभागिता भएको मानिन्छ। कास्की–२ को सन्दर्भमा पोखरा महानगरभित्रैका वडामा मात्र निर्वाचन हुँदाहुँदै पनि कतिपय वडा अझै दुर्गम छन्। ती दुर्गम वडाका सबै मतदाता निर्वाचनमा सहभागी नभएको हुनसक्ने उनले बताए। त्यसबाहेक ठुलो संख्यामा युवापुस्ता वैदेशिक रोजगारीमा छ। त्यस्तै रोजगारी र अध्ययनको सिलसिलामा कास्कीबाहिर रहेका मतदाता पनि उपनिर्वाचनमा घर नफर्केको उनले बताए। युवापुस्तामा राजनीतिक चासो कम हुँदा नारा–जुलुसदेखि चुनावीसभामा समेत सहभागिता जनाउनेमा महिलाको संख्या बढी रहेको पनि उनले बताए।

‘यस्तै अवस्था रहे आगामी दिनमा चुनावमा सहभागी हुने मतदाताको संख्या अझै घट्नेछ। चुनावबाहेक राजनीतिक सफलता हेर्ने अरू कुनै विधि यहाँ प्रयोग गरिएन,’ दाहालले भने, ‘त्यसले गर्दा राजनीतिक दलहरूले राजनीतिक प्रणाली, दलको सिद्धान्तमा सुधार ल्याउनुपर्छ। अहिले राजनीतिक दल, उनीहरूको प्रणाली र सिद्धान्तप्रति जनताको वितृष्ण देखिन थालेको छ, यसलाई सुधार गर्न राजनीतिक दलहरू नै लाग्नुपर्छ।’ विभिन्न मतदान केन्द्रमा भएको विस्फोटले पनि मतदान संख्या कम भएको हुन सक्ने उनले बताए।

प्रकाशित: १५ मंसिर २०७६ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App