९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

भारतकाे बलमिच्याइँ

डोकेबजारनजिकै रहेको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतीय पक्षले ट्रेन्च खनेर लगाएको काँडेतार। तस्बिर ः पुष्पराज÷नागरिक

कैलाली - भारतको दुधुवा नेसनल पार्कबाट दिनहुँ वन्यजन्तु आएर दुःख दिन थालेपछि पुनर्वास नगरपालिका–९ बीचफाँटाका किसानले सीमाक्षेत्रमा काँडेतार लगाउने योजना बनाए। स्थानीयको बालीनाली जोगिने भएकाले सो योजनालाई सम्बन्धित नगरपालिका तथा वडाले पनि सघाए। सीमावारि नेपाली भूमिमा २०७४ वैशाखमा लगाइएको तारबार भारतीय एसएसबी आएर उखेलिदियो।

त्यसैगरी २०७५ माघ १० गते धनगढीनजिकै डोकेबजार सीमाक्षेत्रमा भारतीय पक्षले एकलौटी रूपमा ट्रेन्च खनेर तारबार गर्न थाल्यो। सीमाक्षेत्रनजिकै भारततर्फ रहेको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको भन्दै तारबार गर्न थालेको भारतीय पक्षले बतायो। नेपालतिरका स्थानीयले ट्रेन्च र तारबार गर्न नहुने भन्दै विरोध जनाए। विरोधपछि उक्त काम केही दिन स्थगित गरेको भारतले पुनः माघ अन्तिम सातातिर निर्माण थाल्यो। नेपालीको विरोध हुँदाहुँदै भारतले ट्रेन्च खनेर काँडेतार लगाएरै छाड्यो।

उल्लिखित दुई प्रतिनिधि घटनाले सीमाक्षेत्रमा नेपाली पक्षले कानुनी तवरले पनि काम गर्न नसक्ने तर भारतीय पक्षले जे चाह्यो त्यो गरेरै छाड्ने गरेको अवस्था दर्साउँछन्। पुनर्वास–९ बीचफाँटामा किसानले खेतीपाती जोगाउन गरेको तारबार गैरकानुनी थिएन। किनकि त्यो क्षेत्र अन्तर्राष्ट्रिय जैविक मार्ग होइन। तर अन्तर्राष्ट्रिय जैविक मार्ग भएकै कारण भारतले डोकेबजारमा बनाएको ट्रेन्च र तारबार भने गैरकानुनी थियो। भारतीय पक्षले डोकेबजारदेखि दक्षिण पश्चिमतर्फ करिब तीन किलोमिटर लामो ट्रेन्च खनेर त्यसमाथि काँडेतार लगाएको हो। नेपालको अनुमतिबिना एकलौटी रूपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भूभाग यस वर्षको वर्षायाममा डुबानमा परेका थिए।

बीचफाँटामा दुधुवा नेसनल पार्कका वन्यजन्तु आएर किसानको बालीनाली खाइदिन थालेपछि काँडेतार लगाइएको पुनर्वास–९ का वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए। ‘हामीले आफ्नो भूमिमा लगाएको काँडेतारबारसमेत भारतीय सीमा सुरक्षा बल एसएसबी आएर उखेलिदिए,’ उनले भने, ‘तर उनीहरूले हाम्रै नगरपालिकाको डोकेबजार क्षेत्रमा भने निर्बाध काँडेतार लगाए।’ नेपाली भूमिमै नेपालीले काँडेतार लगाउँदा भने उखेलिदिने भारतीय एसएसबीहरू अन्तर्राष्ट्रिय जैविक मार्गमा भने मनलाग्दी काँडे तारबार गर्ने गरेको उनले बताए। बीचफाँटामा किसानका बालीनाली वन्यजन्तुलाई खुवाउन तथा नेपाली भूमि कब्जा गर्न भारतीय पक्षले सीमामा काँडेतार लगाउन नदिएको स्थानीय पत्रकार दीपेन्द्र बस्नेतले बताए।

सीमामै काँडे तारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडी आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीहरूले विरोध जनाउँदै आएका छन्। अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा हेरिएको सो पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एक मात्रै वनक्षेत्रलाई भारतले एकलौटी रूपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि–सम्झौताविपरीत भएको वनविज्ञ तथा पूर्व डिएफओ रमेश चन्दले बताए। ‘कञ्चनपुरको डोकेबजारमा भारतले लगाएको काँडेतार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धिसम्झौताविपरीत हो,’ उनले भने,‘यसलाई तुरुन्तै नेपालको कूटनीतिक नियोगबाट पहल गरेर हटाइनुपर्छ।’

दुधुवा नेसनल पार्कसँग जोडिएको मोहना–लालझाडी मोहना जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको तारबार अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले बताए।

‘लालझाडी–दुधुवा जैविक मार्ग भएर आवतजावत गर्ने वन्यजन्तुको आवागमनलाई भारतले लगाएको काँडेतारले पूर्णरूपमा रोक लगाएको छ,’ ऐरले भने, ‘सीमाक्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले लगाएको तारबारले जंगली जनावरको बाटो नै अवरुद्ध भएको छ।’ तराई भूपरिधि कार्यक्रमको अवधारणामा लालझाडी–दुधुवा जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोरदोहोरमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, बाघ, चितुवा, मृग, चित्तललगायत जीवजन्तु ओहोरदोहोर गर्छन्।

प्रकाशित: १ मंसिर २०७६ ००:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App