मेलम्ची- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन्। यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ।
नेकपाले केदारनाथ आचार्य र काङ्ग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। गाउँपालिकास्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्यसमितिलाई बुझाइएको छ। उक्त वडामा नेकपा र काङ्ग्रेसबीच नै प्रतिस्पर्धा हुने आँकलन छ। उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन्।
यसअघि सो वडामा काङ्ग्रेस विजयी भएको थियो। निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन ३६४ मत ल्याएका थिए। निकटत्म प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले २२१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए। श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए। उनै आचार्यलाई अहिले पनि उम्मेदवारमा अघि सारिएको हो। रासस
प्रकाशित: १८ कार्तिक २०७६ १०:०० सोमबार