२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद साह पक्राउ, अराजक आक्रोशमाथि लगाम

लहान - राष्ट्रिय जनता पार्टीबाट (राजपा) प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौं विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ साहलाई मंगलबार नै विमानबाट जनकपुर ल्याएर कारबाही अघि बढाइएको छ।

बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै साहमाथि मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ। सोही आधारमा उनीमाथि जिल्ला अदालत धनुषाले जारी गरेको पक्राउ पुर्जीका आधारमा प्रहरीले साहलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरीलाई पक्राउ गरेर पठाइदिन पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह काठमाडौं विमानस्थलबाट पक्राउ परेका थिए। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद साह विद्यार्थी राजनीतिबाट संसदीय राजनीतिमा उक्लिएका हुन्। सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा उनले गरेको तोडफोडको घटनापछि उनको सांसद पद नै धरापमा पर्ने भएको छ।

मंगलबार नागरिक उड्ययन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको छ। उनलाई प्रहरी हिरासतमा राखेर थप कारबाही अघि बढाइने धनुषा प्रहरी प्रमुख खनालले बताए।

यसरी भयो घटना

जनकपुरबाट काठमाडौंका लागि ११ः४० बजेको उडान समय तोकिएको बुद्ध एयरको ५१० एटिआर ७२ का लागि बोर्डिङ पास लिएर सांसद साह विशिष्ट पाहुना कक्षमा बसेका थिए। ‘एयरक्राफ्ट होल्डमा परेकाले निर्धारित समयभन्दा ढिला उडान हुने जानकारी निरन्तर गराइरहेका थियौं,’ बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले भने, ‘सबै यात्रु शान्तपूर्वक बसिरहनुभएको थियो, सांसद प्रमोद साहले भने विशिष्ट कक्षबाट जंगिँदै आएर हाम्रो काउन्टरको सिसा फुटाउनुभयो।’ उनले सांसदको त्यस्तो व्यवहारले आफूहरू चकित भएको प्रतिक्रिया दिए। ‘शान्त पार्न खोज्दा विशिष्ट कक्षको टेबलको सिसा पनि फुटाउनुभयो,’ उनले भने।

नियमित पाँच उडान रहेको जनकपुरमा आइतबार सबै विमान रद्द भएपछि सोमबार उडान थप गरिएकाले एयर ट्राफिक बढेको सिंहले बताए। उडानमा ढिलाइ भएको झोंकमा सांसद जस्तो मान्छे तोडफोडमा उत्रिनु दुःखद् भएको सिंहले उल्लेख गरे। उक्त तोडफोडबाट जनकपुरस्थित विमास्थलमा रहेको बुद्ध एयरको काउन्टर, कम्प्युटर तथा भिआइपी कक्षमा केही सिसा फुटेको जनकपुर विमानस्थल प्रमुख सन्तोष ढकालले जानकारी गराए।

आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वदेश फिर्ताको समयमा जनकपुरको उडान तालिका रद्द गरेको कम्पनीले सोमबार मात्र उडान भरेको जनाइएको छ। बुद्व एयरले सोमबारको चापका कारण र दसैंपछि कम्पनीले थप विमान उडान सेवा थप गरेका कारण काठमाडौंबाट जनकपुरका लागि विमान उड्न केही ढिलाइ भएको स्विकारेको छ।

घटनाबारे स्पष्ट पार्दै कम्पनीका बजार प्रबन्धक तथा सहायक प्रवक्ता रुपेश जोशीले आइतबार उडान भर्न नसकेकोे ७२ सिट क्षमताको ५०६ एटिआर विमान सोमबार पनि निश्चित समयमा उड्न नसकेको बताए। सांसद प्रमोदकुमार साह पक्राउ परेपछि राष्ट्रिय जनता पार्टीका नेताको चर्को प्रतिक्रिया दिएका छन्। राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सांसद साहलाई पक्राउ गरेर सरकार निरंकुश चरित्र देखाएको टिप्पणी गरेका छन्। सांसद साहलाई तत्काल रिहा गर्न उनको माग छ।

राजपाका महासचिव केशव झाले विमानस्थलको अव्यवस्था र विमान उडानमा भएको ढिलाइ सुधार गर्नुको साटो सांसदलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको प्रतिक्रिया दिए।

जनकपुरधाम उप–महानगरपालिका–४ का ६५ वर्षीय कडनीका बिरामी शौखिलाल चौधरी पीडाले छटपटाइरहँदा पनि विमानस्थल कर्मचारीले वास्ता नगरेपछि सांसद साह आक्रोशित भएको झाको भनाई छ। किड्नीका बिरामी चौधरीले आफू बिहान ११ बजे विमानस्थल आइपुगे पनि दिउँसो १ बजेसम्म विमानस्थलका कर्मचारीले कुनै वास्ता नगरेको बताएपछि सांसदज्यू आवेगमा आउनुु स्वभाविक रहेको उनले तर्क गरे।

घटना समान्य भैसकेपछि सांसद साह विमान चढ्न जाने क्रममा बुद्ध एयरकै कर्मचारीबाट अभद्र व्यवहार भएको उनको जिकिर छ। भिआपी(सांसद साह)माथि विमानस्थल कर्मचारीबाट भएको दुवर््यवहार आपत्तिजनक हो। दुवर््यवहार गर्नेउपर कारबाही र सांसदको रिहाइ नभए कडा विरोधमा उत्रने उनले चेतावनी दिए।

अराजक आक्रोश

सोमबार सांसदले जनकपुर विमानस्थलमा गरेको तोडफोडका घटनालाई आक्रोशको अराजक र अमर्यादित स्वरूप भनेर आलोचना हुँदैछ। मधेस मामिलामा विद्यावारिधि राजेश अहिराजले यो घटनाको पछाडि शक्ति कानुनमा होइन कि मेरोमा छ भने मानसिकता कारक देखिएको टिप्पणी गरेका छन्। कानुनको साशन नभई साशकको कानुन हुन्छ भने मानसिकताले आक्रोशको अराजक स्वरूप पछिल्लो समय बढ्दै गएको उनको तर्क छ।

‘जनता जागरुक नहुँदासम्म अराजकता, उदण्डता, दम्भ स्वीकार्य भइरहन्छ तर, जनता जागेपछि अराजकता मच्चाउनेहरू कानुनी दायरामा आउन बाध्य हुन्छन्। पछिल्लो समय साशकको कानुन ठान्नेहरु कानुनी दायरामा आउन थाल्नुको पछाडि जनता मजबुत हुँदै गएको पुष्टि हुन्छ,’ अहिराजको विश्लेषण छ।

प्रकाशित: २९ आश्विन २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App