८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान दिवसः रत्नपार्क प्रवेश निःशुल्क, घरघरमा राष्ट्रिय झण्डा, तीन दिनसम्म दिपावली

फाइल तस्बिर

काठमाडौं– रत्नपार्क तथा बालाजु पार्कमा सर्वसाधारणले निःशुल्क प्रवेश पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा असोज २, ३ र ४ गते दुई पार्कमा जाने सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेको हो। बालाजु बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि रु २५ शुल्क लाग्ने गर्छ। 

संविधान दिवस भव्य रुपमा मनाउन पनि महानगरपालिकाले सहजीकरण गर्ने भएको छ। संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि समेत महानगरपालिकाले  बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने भएको छ। 

कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाइप राखेर ध्वजा पतकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने जस्ता काम पनि महानगरले गर्ने भएको छ।  

प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको र्याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४÷३ फिटका एक÷एक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्ने छ। शिक्षा बिभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ। महानगरले महानगरबासीलाई आफ्नो घरमा ४÷३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ।

दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ। यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ। त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउनेछ।

यस पटकको संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन तथा दिवसको उल्लास नागरिक स्तरमा पुर्याउन राष्ट्रिय झण्डाको उपयोगलाई प्रवर्द्धन गरिने भएको छ। दिवसको अवसरमा सबै मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नागरिकहरुलाई पनि आह्वान गरिनेछ।

प्रकाशित: २ आश्विन २०७६ १०:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App