काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको बताए। कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष दाहालको भनाई छ। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठने गरी सरकारले काम गरिरहेको बताए। उनले नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षा अनुसार काम सरकारले गर्न नसकेको पनि स्वीकार गरे।
अध्यक्ष दाहालले चीनले अघि सारेको ‘रोड एण्ड बेल्ट ईनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको पनि स्पष्ट पारे। सो परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको साथ रहेको पनि अध्यक्ष दाहालको विश्वास थियो।
प्रकाशित: २९ भाद्र २०७६ १०:११ आइतबार