४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महन्त निलम्बित, छानबिन सुरु

महन्त निलम्बित, छानबिन सुरु महन्त जगन्नाथले जग्गा आफ्नो नाममा ल्याउन गुरुलाई बाबु बनाएर नागरिकता बनाएको भेटिएको छ । मानमहन्त जगन्नाथ दास वैष्णवले गुरुलाई बाबु बनाएर निकालेको नागरिकताको प्रतिलिपि ।

काठमाडौं - विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका छौं,’ चौधरीले मंगलबार नागरिकसँग भने, ‘जग्गा बिक्रीको विषयमा छानबिन गरेर कारबाही गर्छौं।’

रुपन्देही र धनुषा जिल्लामा लक्ष्मीनारायण, रामजानकीलगायत मन्दिरको सबा तीन अर्ब रुपैयाँ पर्ने करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेको आरोप जगन्नाथमाथि लागेको छ। जग्गा बिक्री प्रकरणले सिंगो गुठी संस्थान बदनाम भएकाले छानबिन गरी कडा कारबाही गर्ने अध्यक्ष चौधरीले बताए। ‘देउताका नाममा भएको जग्गा मिलेभगत गरेर बिक्री गरेको देखियो,’ चौधरीले भने, ‘केही जमिन बिक्री गर्ने सूचनाका आधारमा रोक्का पनि गरेका छौं।’ अध्यक्ष चौधरीका अनुसार पछिल्लो पटक जनकपुरको रामनिद्यरको ७÷८ कट्ठा जग्गा बिक्री गर्न लागेको सूचनाका आधारमा रोक्का गरिएको छ। मठमन्दिरको जग्गा बिक्रीको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि चासो व्यक्त गरेको छ। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जग्गा बिक्री गर्नेलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ। ‘मन्त्रीज्यू मंगलबार विदेश जानुभएको छ,’ सचिवालयका एक कर्मचारीले भने, ‘विदेशबाट फर्केपछि थप एक्सनमा जानुहुन्छ।’

जगन्नाथले मठमन्दिरका नामको जमिन आफ्ना नाममा बनाउन गुरु कौशलकिशोर दास वैष्णवलाई बाबु बनाएर नागरिकता निकालेको थप तथ्य फेला परेको छ। बाबुको मृत्युपछि जग्गाजमिन स्वतः छोराका नाममा जाने भएकाले जगन्नाथले कौशलकिशोरलाई बाबु बनाएर नागरिकता बनाएका हुन्। नागरिकताअनुसार जगन्नाथको जन्मस्थान गोनपुरा गाविस वडा नं. २ र स्थानीय वासस्थान मटिहानी गाविस वडा नं. ६ उल्लेख छ। उनका बाबुको नाम देवनारायण झा भए पनि मठमन्दिरको जग्गा आफ्नो स्वामित्वमा ल्याउन जगन्नाथले नागरिकतामा बाबुको नाममा कौशलकिशोर दास वैष्णव लेखाएका छन्। मटिहानीको परम्पराअनुसार गुरुको मृत्युपछि उनका नामको सम्पत्ति स्वतः उत्तराधिकारी (चेला) को नाममा जान्छ। रामानु सम्प्रदायमा गृहस्थी त्यागेपछि जन्मस्थलसँगको नाता तोड्ने परम्परा भए पनि जगन्नाथले आफ्ना बाबु देवनारायण, दाजुभाइ र भतिजहरुलाई पनि गुठीको जमिन दिएको स्रोतको दाबी छ।

मटिहानी मन्दिरको परम्पराअनुसार गुरुको नाममा भएको जग्गाजमिन भोगचलन गर्न पाए पनि बिक्री गर्न नपाइने गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले बताए। ‘गुरुका नाममा भएको जग्गा चेला (उत्तराधिकारी) ले भोगचलन गर्न पाउँछ,’ थपलियाले भने, ‘बिक्री गर्न भने पाइँदैन।’ तर जगन्नाथले गुरु कौशलकिशोरको नाममा भएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेको गुठी संस्थानका अधिकारी बताउँछन्। मालपोत र नापीका कर्मचारी तथा गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा मन्दिरका गुरु कौशलकिशोरको मृत्युपछि जगन्नाथले नागरिकतालाई आधार बनाएर जग्गा आफ्नो नाममा बनाई बिक्री गरेका छन्। नागरिकलाई प्राप्त सूचनाअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेका छन्। २०५४ सालमा गुठी संस्थानबाट महन्त नियुक्त भएपछि वैष्णवले विभिन्न मितिमा जग्गा बिक्री गर्दै आएको स्रोतले बतायो। यी महन्तलाई रुपन्देही, महोत्तरी, धनुषा, सर्लाही, सिरहा र पर्साका मठमन्दिरको रेखदेख र व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो।

प्रकाशित: १ श्रावण २०७६ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App