४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध आक्रामक, ‘गलत क्रियाकलापको भण्डाफोर’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको अभियान सुरु गरेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि पहिलोपटक आन्तरिक विवाद थाती राख्दै कांग्रेसले बुधबार देशव्यापी राष्ट्रिय जागरण अभियान सुरु गरेको हो।

केन्द्रदेखि वडा तहसम्मका संगठन एकैसाथ परिचालन गर्ने उद्देश्यले अभियान सुरु गरेको कांग्रेसले केपी ओली नेतृत्व सरकारविरुद्ध कार्यक्रम केन्द्रित गर्ने भएको छ। सरकारका पछिल्ला कदमप्रति असन्तुष्ट कांग्रेसले वाइड बडी खरिदमा भएको अनियमितता, बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयसहितका विसंगतिविरुद्ध अभियान केन्द्रित गरेको छ।

संविधानप्रतिको असन्तुष्टिलाई संविधान संशोधनमार्फत सम्बोधन गर्दै मुलुकलाई एकताको सूत्रमा गाँस्न तथा पार्टी संगठनमा नयाँ रक्त सञ्चार गर्न अभियान फलदायी हुने कांग्रेसको विश्वास छ। कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न अभियान महत्वपूर्ण हुने दाबी पार्टी सभापति शेरबहादुर देउवाको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेको अवसर र चुनौतीको सामना गर्नसक्ने पार्टी बनाउन लागौं।’

सरकार राज्यका हरेक अंगमा हस्तक्षेप गर्न लागि परेको सुनाउँदै देउवाले कुनै पनि बहानाको तानाशाही स्वीकार्य नहुने स्पष्ट पारे। पार्टी स्थापना नै तानाशाहविरुद्ध भएको सुनाउँदै देउवाले भने, ‘राणा, पञ्चायत र राजा ज्ञानेन्द्रलाई हटायौं। अहिलेको सरकारको यस्तै रबैया रह्यो भने यसलाई पनि हटाउन सडक आन्दोलन गर्न बाध्य हुन्छौं। हामी सडकबाटै यिनीहरुलाई हटाउँछौं। नियत यस्तै हो भने हामीले मुक्ति पाउन आन्दोलन गर्नैपर्छ।’

आन्दोलनका लागि तयार हुन नेता कार्यकर्तालाई निर्देशन दिएका देउवाले आफ्नो दल कुर्सी र रेलिङ भाँच्ने प्रतिपक्षी भने नभएको दाबी गरे। प्रधानमन्त्रीले आफ्नो पदीय मर्यादा भुलेर जे पायो त्यही बोल्न थालेको आरोप लगाउँदै देउवाले भने, ‘हिजो (मंगलबार) संसद्मा देखिहाल्नुभयो, प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको। हामीले विरोध ग¥यौं र रेकर्डबाट हटाउन सभामुखलाई आग्रह ग-यौं तर सकेनन्।’ नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर सभामुख आफूले पहिलोपटक देखेको देउवाको टिप्पणी थियो। सभामुखले संसदीय गरिमा जोगाउन नसकेको आरोप लगाउँदै देउवाले थपे, ‘धेरै सभामुख भएका छन् तर उनीहरुले सत्तापक्षको जस्तो व्यवहार कहिल्यै देखाएका थिएनन्। बरु विपक्षीहरुको भावनालाई महत्व दिन्थे।’

ब्रिटिस मोडलअनुसार सरकार सत्तापक्ष र सदन विपक्षीको भएकोे दाबी गर्दै देउवाले भने, ‘निर्वाचनअघि नै कम्युनिस्ट नेतृत्वमा सरकार गठन भयो भने रुन पनि पाइँदैन भनेको थिएँ, त्यो कुरा पुष्टि हुँदै आएको छ।’ प्रधानमन्त्री केपी ओलीले अरुले गरेको काम पनि आफैंले गरेको भन्ने गरेको आरोप देउवाले लगाए। उनले भने, ‘अर्काले गरेको काम मैले गरेको हुँ भन्न लाज लाग्नुपर्ने होइन ?’

कांग्रेसले वाइड बडी खरिदमा भएको अनियमितता, बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा बनाउने पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै विदेशी कम्पनीलाई दिने सरकारी निर्णयसहितका विसंगतिविरुद्ध अभियान केन्द्रित गरेको छ।

देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी बेलायती महारानीको पथमा अघि बढेको टिप्पणी गरे। गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको र संवैधानिक व्यवस्थासमेत त्यही भएको उनले बताए। ‘यसभन्दा अगाडि अघिल्लो वर्ष राष्ट्रपतिले मेरो सरकार भनेकी थिइनन्। राष्ट्रपति रहँदा रामवरण यादवले पनि मेरो सरकार भनेका थिएनन्। अहिले यिनलाई बेलायती महारानीजस्तो किन हुनु परेको’, देउवाले प्रश्न गर्दै भने, ‘बेलायतमा हर मेजेस्टिज गभर्मेन्ट भनिन्छ। यहाँ पनि मेरो सरकार भनियो। अब हर मेजेस्टिज विद्या भण्डारी गभर्मेन्ट भन्ने ?’

कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीभित्र संस्कार हराउँदै गएको गुनासो गरे। गुटउपगुटका कारण निर्वाचनमा पार्टी पराजित हुने गरेको टिप्पणी गर्दै सिंहले भने, ‘बहुदल ल्याएको कांग्रेसमा निर्दलीय संस्कार विकास भइरहेको छ। यो राम्रो भएन। समय छँदै विचार गरौं। गुटलाई होइन पार्टीलाई केन्द्रमा राखौं।’

पार्टी विधिविधान अनुसार सञ्चालन गर्दा मात्र तेरोमेरो, काखापाखा गर्ने परम्परा अन्त्य हुने दाबी गर्दै सिंहले भने, ‘कम्युनिस्ट फुट्छ र हाम्रो पालो आउँछ भन्ने होइन, हाम्रा धारणालाई स्पष्टताका साथ जनतामा राखेर संगठन बलियो बनाउन लागौं।’

पार्टीले सुरु गरेको अभियान सकिएपछि पनि विश्राम नलिई संगठन निर्माणमा जुट्न आह्वान गर्दै सिंहले थपे, ‘अब विश्राम लिने र सुत्ने होइन, पार्टीले निर्वाचन जित्न सक्नेगरी संगठन मजबुत बनाउन लागौं।’

कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार मुलुकमा जनवादी केन्द्रीयता लागू गर्न सक्रिय रहेको आरोप लगाउँदै उनले भने, ‘दुईतिहाइ छ भन्दैमा संविधान कुल्चन थाले कांग्रेस टुलुटुलु हेरेर बस्दैन। त्यसका लागि जस्तोसुकै बलिदानी गर्न पनि तयार छ।’

काठमाडौंका केन्द्रीय प्रतिनिधि नेता बालकृष्ण खाँणले प्रधानमन्त्री ओलीले गैरसंसदीय भाषा प्रयोग गरेर नयाँ इतिहास रचेको टिप्पणी गरे। संविधानसभाबाट जारी भएको नयाँ संविधान कमजोर बनाउन सरकार सक्रिय रहेको आरोप लगाउँदै खाँणले जनताका मनमनका कुरासम्बन्धमा सांसदले प्रश्न गर्न पाउने कि नपाउने भन्ने प्रश्न गरे। पार्टीले सुरु गरेको जागरण अभियानले जनता र कांग्रेसलाई जोड्ने दाबी गर्दै उनले भने, ‘अभियानले पार्टीमा नयाँ रक्तसञ्चार गर्छ।’

कांग्रेसले वैशाख ११ गते सुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टी नेता रामकृष्ण ताम्राकारको निधनका कारण दुई साता पर सारी बुधबार सुरु गरेको छ। ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर सुरु गरेको पहिलो चरणको एकमहिने कार्यक्रमअन्तर्गत बुधबार सातवटै प्रदेशका एकएक ठाउँमा अभियान उद्घाटन गर्न पार्टी पदाधिकारी पुगेका थिए।

प्रकाशित: २६ वैशाख २०७६ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App