६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बाबुरामको सरकार यात्रा कि उपेन्द्रको बहिर्गमन ?

काठमाडौं – लामो समयको कसरतपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकताको मुखैमा पुगेका छन्।

दुई पार्टीका नेताहरु सम्मिलित शनिबार(आज) बसेको बैठकले एकताको औपचारिक घोषणा यही वैशाख २३ गते सोमबार गर्ने जनाएका छन्।

भट्टराई र यादवको हस्ताक्षरित एकता घोषणाको विज्ञप्तिमा पार्टी एकताको मिति र नामबारे मात्रै उल्लेख छ। सहमतिपत्रमा दुई पार्टी मिलेर ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ। नेतृत्व र पदीय जिम्मेवारीबारे विज्ञप्तिमा खुलाइएको छैन।

यादव नेतृत्वको फोरम सरकार रहेकाले भट्टराईसँगको एकतापछि पार्टी सरकारमा जाने वा बाहिर बस्ने त्यसबारे पनि अन्योल राखिएको छ। एकतापछि सरकारसँगको सहयात्राबारे नेताहरुको स्पष्ट धारणा आइसकेको छैन।  

राजनीतिक विश्लेषक चन्द्रकिशोरले नयाँ शक्ति र फोरमबीचको एकता राम्रो भएको बताए। भने, ‘यो भट्टराईले जनाधार बढाउने दाउ हो। भट्टराई नेता थिए, तर उनका कार्यकर्ता थिएनन्।’

प्रतिनिधिसभा निर्वाचन २०७४ अघिदेखि नै यी दुई दलले एकता प्रयास हुँदै आएको थियो। तर त्यतिबेलाको छलफल सकरात्मक हुन सकेको थिएन। केही महिनायता पनि पार्टी एकीकरणकै विषयलाई लिएर विभिन्न चरणका छलफल भएका थिए। यो पटकको छलफल निष्कर्षमा पुग्नुमा त्यसैबेलादेखिको प्रयासको उपज भएको दुवै पक्षका नेताहरु बताउने गर्छन्। एकतापछि भट्टराई सरकारमा जाने कि यादव बाहिरिने ?

केही साताअघि दुई दलबीच एकताको विषलाई लिएर भएको छलफलमा फोरमले सरकार छोड्नुपर्ने प्रस्ताव भट्टराई नेतृत्वको नयाँ शक्तिले गरेको थियो। तर यादवले एकतापछि निर्णय गर्ने बताएपछि सकरात्मक छलफल अघि बढेकाे थियाे फलस्वरूप मिति टुंगो लागेको हो।

यादव अहिले केन्द्रीय सरकारको उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री छन्। अहिले यादवले सरकार छाड्ने कि भट्टराई सरकारमा जाने भन्ने विषयमा बहस सुरु भइसकेको छ। नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार २३ गते पार्टी एकता घोषणा कार्यक्रम सकिएपछि संविधान संशोधनलगायत विषय सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिइने छ। उक्त अल्टिमेटलाई सरकारले सम्बोधन गरे सरकारमै बस्ने र माग पूरा नभए बाहिरिने सहमति भएको पाण्डेले बताए।

तर, फोरम महासचिव रामसहाय यादव भने केन्द्रीय सरकारबाट बाहिरिने या बस्नेबारे निर्णय भइनसकेको बताउँछन्। ‘सरकारले संविधान संशोधन र मधेसका केही मुद्दाबारे सहमति भए हामी सरकारमै बस्छौं’, उनले भने, ‘नत्र त्यसपछि पार्टीले अर्को कदम चाल्नेछ।’ एकताले प्रदेश २ को सरकारमा कुनै असर नगर्ने उनको दाबी छ। उनले भने, ‘प्रदेश २ को सरकार जोगाउने प्रयासमा छौं।’

वरीयातामा भट्टराई पहिलो, यादव दोस्रो

प्रचार विभाग प्रमुख पाण्डेका अनुसार संघीय परिषद् अध्यक्ष भट्टराई हुने सहमति भएको छ भने केन्द्रीय समिति अध्यक्ष यादव हुनेछन्। संघीय परिषद् केन्द्रीय समितिभन्दा माथि हुनेछ। त्यसैले वरीयतामा भट्टराई पहिलो हुनेछन् भने यादव दोस्रो हुनेछन्।

केन्द्रीय पदाधिकारी २५,संघीय परिषद् एक हजार

संघीय परिषदमा करिब एक हजार जना सदस्य हुनेछन् भने केन्द्रीय समितिमा करिब ३ देखि चार सय सदस्य हुने पाण्डेले नागरिक न्युजलाई बताए। फोरममा १६ जनाको केन्द्रीय पदाधिकारी छ भने नयाँ शक्तिमा ९ जनाको हेर्डक्वाटर छ। अब बन्ने पार्टीमा फोरमको १६ र नयाँ शक्तिको ९ गरी जम्मा २५ जनाको केन्द्रीय पदाधिकारी बन्नेछ।

राजपा ‘आउट’, नेकपा ‘इन’ हुन सक्छ : चन्द्रकिशोर
राजनीतिक विश्लेषक चन्द्रकिशोरले नयाँ शक्ति र फोरमबीचको एकता राम्रो भएको बताए। भने, ‘यो भट्टराईले जनाधार बढाउने दाउ हो। भट्टराई नेता थिए, तर उनका कार्यकर्ता थिएनन्।’

प्रदेश २ सरकारबारे चन्द्रकिशोर भन्छन्, ‘यहाँ फोरमको एउटा हिस्सा राष्ट्रिय जनता पार्टी (राजपा)लाई हटाउन चाहन्छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा हिस्सा पनि प्रदेश २ को सरकारमा जान चाहेको छ। यसो हुँदा प्रदेश २ को सरकार परिवर्तन हुने परिस्थिति पनि आउन सक्छ।’

पार्टी एकताको प्रभाव प्रदेश २ मा, अब के हुन्छ ?

प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिबाट भट्टराई मात्रै। प्रदेश २ मा रहेका १ सय ७ सांसदमध्ये फोरमका २९ जना छन्। तर, प्रदेश सभा २ मा भट्टराई नेतृत्वको नयाँ शक्तिको उपस्थिति छैन।

राजपासँगको सहयात्रामा प्रदेश २ मा फोरम नेतृत्वको सरकार छ। उक्त सरकारलाई प्रदेशको ठूलो दल नेकपाको पनि समर्थन छ। नेकपाका ३२ सिट छ भने राजपाको २५। त्यस्तै कांग्रेसको १९ र स्वतन्त्रको २ सांसद छन्।

स्रोतका अनुसार फोरम केन्द्रीय सरकारमा नेकपासँगै रहेकाले प्रदेश २ मा राजपालाई हटाएर नेकपाको समर्थनमा सरकार गठन हुन सक्छ। बहुमतका लागि प्रदेश २ मा ५४ सांसद चाहिन्छन्। प्रदेश २ मा सरकार गठनका लागि फोरम र नेकपा मिलेको खण्डमा सहजै बहुमत पुग्नेछ।

तर, यो एकता प्रक्रियाले प्रदेश २ सरकारमा कुनै असर नपार्ने राजपाका महासचिव मनिष सुमन बताउँछन्। ‘पार्टी एक हुनु खुसीको कुरा हो तर पार्टी एक हुँदैमा प्रदेश २ मा यसको प्रभाव केही पनि पर्दैन। सरकार जस्तो छ त्यस्तै रहन्छ’, सुमनले भने।

प्रकाशित: २१ वैशाख २०७६ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App