झापा– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गरेका छन्।
उनले भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए। झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर नभएको दाबी गरे।
सभापति देउवाले कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गरे। ‘प्रजातान्त्रिक पार्टीमा फरक विचारहरु पनि आउँछन्’, उनले भने, ‘ यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो।’ सभापति देउवाले पत्रकारसँग कुरा गर्दै बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमती ललिताको भएको दाबी गरेका छन्। सरकारले अधिग्रहण गरेको जग्गा कसैले पाउने भए सुर्वणका सन्तानले पाउनुपर्ने उनले बताए।
प्रकाशित: ९ वैशाख २०७६ ०७:४७ सोमबार