८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सहकारीको परिवर्तनले समृद्धिको सपना पूरा हुन्छ’

फाइल तस्बिर

मकवानपुर - प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनीतिक परिवर्तनसँगै सहकारी क्षेत्रले काम र लगानीमा परिवर्तन ल्याए समृद्धिको सपना पूरा हुने बताएका छन्। जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरद्वारा आयोजित दुईदिने कार्यशाला गोष्ठीको शुक्रबार हेटौंडामा उद्घाटन गर्दै उनले सहकारी बचत र ऋण लगानीबाटै माथि उठ्न ढिला गर्न नहुनेमा जोड दिए।

‘राजनीतिक व्यवस्था परिवर्तन भयो, हिजोको व्यवस्थाबाट नयाँ व्यवस्थामा आएका छौं,’ उनले भने, ‘अब परिवर्तनसँगसँगै सबैले आफूलाई परिवर्तन गर्न सकेनौ भने परिवर्तनको सार्थकता रहँदैन।’ सबै निकायसँगै सहकारीले पनि हिजोको कार्यशैली, काममा परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले थपे, ‘समयअनुसार चल्नुपर्छ तर एक पाइला पनि अगाडि नबढ्ने हो भने यो परिवर्तनको अर्थ रहँदैन।’

उनले सहकारी बचत तथा ऋणमै सीमित नबसी ठूल्ठूला उत्पादनको काम गर्नुपर्नेमा जोड दिए। सहकारीमा भएको पुँजीलाई उत्पादनसँग जोड्न पटक–पटक भन्दै आएको बताउँदै मुख्यमन्त्री पौडेलले उद्योग, पर्यटन, कृषिलगायतको सम्भावनायुक्त क्षेत्रमा लगानी गर्नुपर्ने बताए। हरेक क्षेत्रमा सहकारी लागे मात्र मुलुकलाई परिवर्तन गर्न सकिने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको नारा केन्द्र र प्रदेश सरकारले मात्र पूरा गर्न नसक्ने भन्दै सबै सरोकारवालाको भूमिका रहेको जिकिर गरे। ‘उत्पादन गर्छौं तर बजार पाउँदैन भन्ने गरिन्छ,’ उनले भने, ‘केही सहकारीले उत्पादन गरे केही सहकारीले बजारीकरण गर्नुप¥यो नि !’ सहकारीलाई हरकिसिमले सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए।

४७ श्रमिक महिला सम्मानित
१०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा जोखिमपूर्ण क्षेत्रमा कार्यरत महिलाहरूलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ। उपमहानगरपालिकाले दैनिक ज्याला मजदुर र सवारीचालक ४७ महिलालाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो। दैनिक रूपमा काम गरी खाने श्रमिक वर्गको सम्मानका लागि सबैभन्दा कठिन कार्यमा संलग्न महिला श्रमिकहरूलाई सम्मान गरिएको मेयर हरिबहादुर महतले बताए। उनीहरूलाई सम्मानसँगै स्वास्थ्य शिविरमार्फत उपचारसमेत गरिएको थियो। डकर्मीहरू प्रमिला कँडेल, पार्वती बर्तौला, शर्मिला राई, मजदुर गीता श्रेष्ठ र सुनीता श्रेष्ठलाई प्रमाणपत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै अटो, मयुरी, टेम्पो, माइक्रोचालक महिलाहरू लक्ष्मी विक, तारा सुनार, मंगलीमाया प्रजा, कुमारी राना, रीना मगर, गंगाकुमारी थापा, मालती मोक्तान, गीता मैनाली, कोपिला गौतमलगायतलाई सम्मान गरिएको हो।

प्रदेशका उत्कृष्ट महिला सहकारीको घोषणा
अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा प्रदेश ३ का ११ जिल्लाका उत्कृष्ट महिला सहकारी घोषणा गरिएको छ। प्रदेशका बाँकी दुई जिल्लाको उत्कृष्ट महिला सहकारी घोषणा गरी नगद दुई लाख रुपैयाँसहित पुरस्कृत गरिने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। उत्कृष्ट महिला सहकारीहरूमा सिन्धुलीको गुराँस, धादिङको मिलीजुली, रसुवाको कालिकास्थान, काठमाडौंको गोठाटार महिला बचत तथा ऋण सहकारी, दोलखाको त्रिपुरा महिला सहकारी, भक्तपुरको मनकामना महिला बहुउद्देश्यीय सहकारी रहेका छन्। त्यस्तै, चितवनको दिदीबहिनी बचत तथा ऋण सहकारी, सिन्धुपाल्चोकको कमलको फूल महिला बहुद्देश्यीय सहकारी, काभ्रेपलाञ्चोकको पञ्चकन्या महिला विकास बहुद्देश्यीय सहकारी, रामेछापको समाजसेवा जागृती महिला बचत तथा ऋण सहकारी र मकवानपुरको हिमाल महिला बहुद्देश्यीय सहकारी प्रदेशकै उत्कृष्ट महिला सहकारी घोषणा गरिएका छन्।

कार्यक्रमअघि प्रदेश राजधानी हेटौंडाको मुख्य बजारमा प्रभातफेरी निकालिएको थियो। कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले महिला र पुरुषको समानताबारे व्यावहारिक रूपमा अझै परिवर्तन हुन नसकेको भन्दै नेपालमा विश्वकै उत्कृष्ट कानुन बनेकाले व्यावहारिक रूपमा परिवर्तन पनि गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २५ फाल्गुन २०७५ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App