२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

२१ भाइलाई गौतमको साथ

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन्।

गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए।

सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरूबीच छलफल भएको थियो। त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनपर्ने अडान राखेका थिए ।

सचिवालय बैठकमा उनीहरूको विषयलाई पार्टी अध्यक्षद्वयले उठाउनै नचाहेपछि नेता गौतमले सचिवालयकै बैठकमा छलफल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव अर्याललगायतका नेताहरूले प्रादेशिक तहको एकता तथा कमिटीगत समायोजनका लागि केन्द्रीय स्तरबाटै प्रयास गर्नुपर्ने र तल्ला कमिटी तथा जनसंगठनलाई आआफ्नो एकीकरण, समायोजन र कामको जिम्मेवारी बाँडफाँट आफैं टुंग्याउन दिनुपर्ने माग गरेका थिए।

सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहाल केन्द्रीय सदस्यको कार्य विभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पोलिटब्युरो गठनसम्बन्धी अजेन्डा टुंग्याएर मात्र कार्य विभाजन गर्नुपर्ने मत राखेका छन्। उनीहरूसँगै नेता गौतमले पनि पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्नुपर्ने मत राखेका थिए। छिटो वा तत्काल निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी स्थायी समितिले निर्णय गर्ने पूर्वपरम्परालाई पालना गर्न माग गरेको विषयमा नेता गौतम सहमत भएका छन्।

सचिवालय बैठक स्थगित भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्नेमध्ये केही केन्द्रीय सदस्यहरू आइतबार बिहान गौतमलाई भेट्न गएका थिए। गौतम निवास भंैसेपाटी पुगेका उनीहरुले आफ्ना माग सुनुवाइ नभएको गुनासो गरेका थिए।

सचिवालय बैठकबाट पोलिटब्युरो सदस्य र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकिए बाँकीलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । सचिवालयले कार्य विभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले चार सय ४१ जना केन्द्रीय सदस्यकै कार्य विभाजन गर्ने तयारी छ । केन्द्रीय कमिटीको एक तिहाई एक सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ ।

प्रकाशित: १० मंसिर २०७५ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App