पाल्पा–कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारबाट सुशासनको अपेक्षा गर्न सक्ने अवस्था सकिएकोे बताएका छन्।
प्रेस युनियन पाल्पाले गरेको पत्रकार सम्मेलनमा थापाले वर्तमान दुईतिहाइको सरकार जनताको प्रस्नसँग डराउन छाडेको भन्दै सुशासन दिने क्षमता नै नरहेको भन्दै आलोचना गरेका हुन्।
‘प्रश्नहरुसँग सरकार डराउन छाडेको छ,’ उनले भने, ‘जनताले के भन्छन् भन्नेसँग बेसरोकार राख्छ भने निर्वाचित सरकारको गम्भिर विषय हो। नियतकोमात्र पनि होईन सरकारसँग क्षमता नै छैन ।’ प्रधानमन्त्री तथा मन्त्रीहरु धेरै बोल्ने तर काम केही पनि नगर्ने प्रवृतिका रहेको भन्दै धेरै नबोल्न र काम गरेर प्रमाणित गर्न थापाले सुझाव दिए।
सरकारसँग काम गर्ने कुनै योजना नै नरहेको आरोप लगाउँदै थापाले यही सरकारकै कारण नेपाली जनताको ४÷५ वर्षको समय खेर जाने देखिएको बताए। ‘सरकारले अनुकुलताको अवस्था खेर फाल्दैछ,’ थापाले भने ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले ‘मुलुकको समृद्धिको लागि उद्योग सञ्चालन गर्नुपर्ने भए पनि सरकारले यसमा पनि गलत बाटो समाइरहेको आरोप लगाए। ‘ सरकार रक्सी र चुरोट उद्योग चलाउछु भन्छ तर स्कुल तथा अस्पताल अरुलाई चलाउ भन्छ,’ उनले प्रस्न गरे, ‘यसरी के देश विकास हुन्छ ?’
प्रकाशित: ८ आश्विन २०७५ ०६:२५ सोमबार