१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आचारसंहिता अनुगमन टोली परिचालन

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै अनुगमन सुरु गरेको छ।

बुधबार आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा निर्वाचन आचारसंहिता अनुगमन गर्न दुई अनुगमन टोली परिचालन गरिएको जानकारी दिइन्।

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा प्रचारप्रसारका क्रममा कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा आचारसंहिता उल्लंघन भएको भनी सूचना प्राप्त भएकाले दुई छुट्टाछुट्टै अनुगमन टोली परिचालन गरिएको छ’, सहसचिव तथा प्रवक्ता अर्यालले भनिन्।

उनका अनुसार कीर्तिपुर नगरपालिकामा एसएसपी दीपक रेग्मीको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन टोली खटाइएको छ। टोलीमा आयोगका उपसचिव डा. थानेश्वरभुसाल, उपन्यायाधिवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डिएसपी अशोक न्यौपाने रहेका छन्।

त्यस्तै काठमाडौं– १६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ। टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगका सहसचिव सीता पुन र प्रहरीका एसपी सञ्जय सिंह थापा रहेका छन्।

निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधि अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाइएमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकारसहितको टोलीलाई आयोगको बुधबारदेखि कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा खटाइसकिएको छ।

यसअघि आयोगले उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेको भन्दा फरक नपार्न निर्देशन दिएको थियो। प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गरिसकेको छ।

आयोगले आचारसंहिता उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम रद्द गर्न सक्छ।

स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मंसिर २ देखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागु भइसकेको छ। सो आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले विभिन्न संयन्त्र परिचालन गरेको छ।

आगामी मंसिर १६ गते देशभरका स्थानीय तहको रिक्त प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष वा वडाध्यक्षसहितका ४१ पदमा उपनिर्वाचन हुँदै छ। आयोगको मतदान हुने दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडाध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सबै निकायसँग आह्वान गरिसकेको छ।

प्रकाशित: १३ मंसिर २०८१ ०८:५८ बिहीबार

# Election Commission # Deploying a Code of Conduct Monitoring Team