१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ

.

जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन्। धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ।

इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गरेका थिए। उनले करिब एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए। गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उनको भनाइ छ। दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए।

दसैंअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उनलाई भ्याइनभ्याइ भएको हो। पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताए। धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको किसान वीरेन्द्र यादवले सुनाए।

सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गँहु र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए। 

प्रकाशित: १२ मंसिर २०८१ १६:०३ बुधबार