राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा राजधानीमा आयोजित शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीद्वारा गरिएको दमनको भर्त्सना गरेको छ।
केन्द्रीय समितिको बैठकपछि जारी गरिएको विज्ञप्तिमा सरकारले सर्वसाधारणको न्यायिक माग दमन गर्नु अधिनायकवादी कदम भएको बताइएको छ।
पार्टीले नागरिकले आफ्नो बचत फिर्ता पाउन पाइपाइ गरेर गरेको संघर्षलाई दमन गर्ने सरकारको कदमलाई असंवेदनशीलता र गैरजिम्मेवारीको संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पीडित सर्वसाधारणका हकप्राप्तिमा प्रभावकारी कदम चाल्नुको सट्टा उठेका आवाज दबाउने कार्यले सरकारको अधिनायकवादी चरित्रलाई उदाङ्गो बनाएको छ।’
सहकारी पीडितका समस्या समाधान गर्न र दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै पार्टीले सरकारलाई कडा चेतावनी समेत दिएको छ।
साथै, बैठकले पार्टीले दोस्रो चरणको आन्दोलनलाई स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानमार्फत अघि बढाउने निर्णय गरेको छ। आगामी स्थानीय तहको उपनिर्वाचनमा सहकारी, लघुवित्त, मिटरब्याज पीडितलगायतका मुद्दालाई प्राथमिकतामा राख्दै भ्रष्टाचार, अर्थतन्त्र, युवा बेरोजगारी, र संविधान संशोधनजस्ता राष्ट्रिय मुद्दाहरूलाई स्थानीय तहमा लैजाने योजना रहेको विज्ञप्तिमा उल्लेख छ।
यसका साथै पछिल्लो समय प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषय र त्यस सन्दर्भमा केही व्यक्तिहरू पक्राउ परेका घटनाबारे सत्यतथ्य छानबिन गरी वास्तविकता सार्वजनिक गर्न पार्टीले सरकारसँग माग गरेको छ।
पार्टीले मुलुकको वर्तमान परिस्थिति र जनचासोका मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै अन्यथा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
प्रकाशित: ५ मंसिर २०८१ २२:४२ बुधबार