६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुर उपनिर्वाचन: दुवै वडामा दावी विरोध परेन

मनोनयन दर्तापछि आयोजित कार्यक्रममा सहभागी एक उम्मेदवार।

उदयपुरमा आसन्न  स्थानीय तह उपनिर्वाचनअन्तर्गत रिक्त रहेका दुई वडाध्यक्ष पदका उम्मेदवारीविरुद्ध कुनै उजुरी दर्ता भएको छैन।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार मनोनयनपछि सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि दाबी–विरोधको समय तोकिएको थियो। तर, तोकिएको समयसम्म कुनै उजुरी नपरेको जनाइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दिलीप थापामगरका अनुसार त्रियुगा नगरपालिका–१२ मा परेको ९ उम्मेदवारी र बेलका नगरपालिका–९ मा परेको ६ उम्मेदवारीविरुद्ध कुनै उजुरी दर्ता नभएको हो।

त्रियुगा–१२ मा नेपाली कांग्रेसले सञ्जिव काफ्लेलाई वडाध्यक्षका रूपमा अघि सारेको छ। नेकपा (एमाले) ले लक्ष्मीनारायण चौधरी, नेकपा (माओवादी केन्द्र) ले नवीनकुमार बान्तवा राई, र नेकपा (एकीकृत समाजवादी) ले निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले ध्रुब पोखरेललाई, नागरिक उन्मुक्ति पार्टीले चन्द्रकला चौधरीलाई, र जनमत पार्टीले प्रमोद सहनीलाई उम्मेदवार बनाएको छ। स्वतन्त्र रूपमा बजगङ्गबली कुमार दासले उम्मेदवारी दिएका छन्।

बेलका–९ मा नेपाली कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार बनाएको छ। एमालेले मोहन खड्कालाई, माओवादी केन्द्रले भरत घिमिरेलाई, र जनता समाजवादी पार्टीले राजकुमार राईलाई अघि सारेका छन्।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले तेजमान विश्वकमाईलाई, राप्रपाले टीकाप्रसाद फुयाललाई, र नेशनल मङ्गोल अर्गनाइजेसनले सूर्य तामाङलाई उम्मेदवार बनाएको छ।

यी दुवै वडामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको थियो। त्रियुगा–१२ का निर्वाचित वडाध्यक्ष चुडाराज काफ्ले र बेलका–९ का पदमबहादुर खड्काको मोटरसाइकल दुर्घटनामा निधन भएपछि यी पद रिक्त भएका थिए।

काफ्लेको निधन २०७९ सालको फागुनमा शिवरात्रिका दिन र खड्काको निधन गत जेठमा भएको थियो। त्यसपश्चात् उपनिर्वाचनमार्फत यी रिक्त पदहरू पूर्ति गर्न लागिएको हो।

प्रकाशित: ३ मंसिर २०८१ २०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App