८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कोप–२९ सम्मेलन :नेपालद्वारा सात विषयगत समूह बनाई कार्यक्रममा सहभागी

<br>

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले प्रभावकारी सहभागिताका लागि विभिन्न सात विषयगत समूहमा जिम्मेवारी बाँडबाँट गरी विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको छ। सम्मेलन यही कात्तिक २६ गतेदेखि अजरबैजानको बाकुमा जारी छ।

वन तथा वातावरण मन्त्रालयले कोप–२९ मा प्रभावकारी सहभागिताका लागि सम्मेलनसँग सम्बन्धित सात विषयमा सहसचिव र उपसचिवहरूको नेतृत्वमा छुट्टाछुट्टै समूह निर्माण गरी वार्ता,छलफल र भेटवार्तामा सहभागी भइरहेको जनाएको हो।

सम्मेलनमा बिहीबार दिउँसोसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। उनी बिहीबार नै स्वदेश प्रस्थान गरेपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीले गरिरहेका छन्।

मन्त्री शाही र वनसचिव डा दीपककुमार खरालले शुक्रबारसम्मेलनस्थलमा नेपालका तर्फबाट भइरहेको कामकारबाही र तयारीबारे जानकारी दिन तथा समीक्षा गरी आवश्यक निर्देशन दिन कार्यक्रमको आयोजना गरेका छन्।

नेपालबाट यहाँ आएका सबै सहभागीहरू उपस्थित सो कार्यक्रममा मन्त्रालयले गठन समूहले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए। कार्यक्रममा सहसचिवहरू धनिराम शर्माले जलवायु वित्त, डा महेश्वर ढकालले जलवायुजन्य हानिनोक्सानी, डा. बुद्धिसागर पौडेलले संरचनाको पारदिर्शतामा अभिवृद्धि, नवराज पुडासैनीले कार्बन व्यापार, सञ्जीव राईले क्षमता अभिवृद्धि, उपसचिव धनञ्जय लामिछानेले न्यूनीकरण र उपसचिव दीपा ओलीले समावेशिताका विषयगत समूहले गरेका कामका बारेमा अवगत गराएका थिए।

त्यस अवसरमा मन्त्री शाहीले को–२९ सम्मेलनमा नेपालले प्राथमिकता दिएर राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाएको बताउनुहुँदै अपेक्षित उपलब्धि हासिल गर्न सबैको सहयोग र समन्वय आवश्यक रहेकामा जोड दिए। उनले नेपालले उठाउँदै आएका जलवायु न्यायका विषयलाई सशक्त बनाउन सरकारी निकायका साथै नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्था सबैको सहयोग हुने आशा व्यक्त गरे।

सचिव डा खरालले विषयगत समूहले सहभागिताका क्रममा गरेका कामको दैनिक रूपमा अनुगमन र समन्वय भइरहेको जानकारी दिनुहुँदै प्रभावकारिताका लागि जनशक्तिलाई सशक्त रूपमा परिचालन गरिएको उल्लेख गरे । मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले सम्मेलनमा सहभागी सबै देशको हितमा मात्र बोल्न र काम गर्न आग्रह गर्नुहुँदै सहभागीका लागि आचारसंहिता निर्माण गरिएको जानकारी गराएका थिए।

कोप–२९ मा ७३ हजारको सहभागिता

आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा हालसम्म एक सय ९३ देशका सरकारी तथा गैरसरकारी प्रतिनिधि, विज्ञ, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, विद्यार्थीलगायत गरी ७३ हजार जनाले सहभागिता जनाएको बताइएको छ।सहसचिव डा ढुङ्गानाका अनुसार नेपालबाट यस सम्मेलनमा आउनका लागि वन मन्त्रालयबाट राष्ट्रपति पौडेल नेतृत्वको टोलीसमेत गरी करिब दुई सय जनाको नाम दर्ता गरिएको थियो।त्यसमध्ये अधिकांश सम्मेलनस्थलमा आइसकेको र केही अझै आउने क्रममा रहेका छन्।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरू भेला भई आफ्ना धारणा व्यक्त गरेका थिए। उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गरेको युएनफसिसिसीको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले उच्चस्तरीयसत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए। त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका प्राकृतिक विपद्का बारेमा विश्वको ध्यानाकर्षण गराएको थियो। सम्मेलन स्थलमा राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रको आयोजना गरिएको थियो।

यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी) नाम दिइएको छ। एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्यबारे यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

भीष्मराज ओझा/रासस

प्रकाशित: ३० कार्तिक २०८१ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App