१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘टोल-टोलमा कांग्रेस’ अभियान सञ्चालन गर्दै कांग्रेस

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर-१ ले पार्टी सुदृढीकरण अभियानसँगै ‘टोल टोलमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार असोज १ गतेदेखि एक सय दिनसम्म उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो।

बुधबार नेपाली कांग्रेस क्षेत्र नम्बर-१ का सभापति पोषण केसीको संयोजकत्वमा बसेको पूर्ण बैठकले प्रत्येक टोलमा गई कांग्रेसको सङ्गठनलाई मजबुत बनाउने उद्देश्यले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या बुझ्ने र समस्या समाधान गर्नेतर्फ पहलकदमी लिनका लागि ‘टोल टोलमा कांग्रेस’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

त्यसैगरी, बैठकले असोज महिनाभित्र क्षेत्रीय स्तरको आवासीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, क्षेत्रभित्र रहेका स्थानीय तहका जन निर्वाचित प्रतिनिधि र पार्टीका बीच अन्तरक्रिया कार्यक्रम गर्ने, संविधान दिवसको अवसरमा संविधान संशोधनको आवश्यकता र पार्टीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्ने र १११ औं वीपी जन्मजयन्तीका अवसरमा यसै हप्ता नरैनापुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति केसीले जानकारी दिए।

बैठकले क्रियाशील सदस्यता नवीकरण फाराम क्षेत्रमा नआएको प्रति गम्भीर चिन्ता र चासो व्यक्त गर्दै अविलम्ब क्रियाशील सदस्यता फाराम पठाउन मातहतका कार्यसमितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

‘टोल टोलमा कांग्रेस अभियानले जनतामाझ पार्टीलाई पुर्‍याउने छ,’ उनले भने, ‘हामी जनताको समस्या र माग प्रत्यक्ष रुपमा सुन्ने छौं र समाधानका लागि पहल गर्ने छौं।’ यो अभियानले पार्टी र जनतालाई जोड्ने उनको विश्वास छ।

यस्तै, वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर-१ द्वारा बुधबार राप्तीसोनारी-४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालमा निःशुल्क एक दिने दन्त शिविरको आयोजना गरिएको छ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोग र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा सम्पन्न उक्त शिविरमा करिब दुई सय जना सर्वसाधारणले सेवा लिएका छन्।

क्षेत्रीय समिति स्वास्थ्य शाखा संयोजक अञ्जु न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त शिविरको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले उद्घाटन गरेका थिए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य स्वास्थ्यकर्मी रामबहादुर मल्लले संयोजन गरेको दन्त शिविर उद्घाटन समारोहमा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर-१ का क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि लाहुराम थारु, नेपाली कांग्रेस प्रदेश (क) का सभापति अम्बरबहादुर बुढाथोकी र राप्तीसोनारी नेपाली कांग्रेस सभापति भिमबहादुर रानालगायतले धारणा व्यक्त राखेका थिए।

प्रकाशित: २६ भाद्र २०८१ २१:४६ बुधबार