५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको छलफल :संसदीय परिपाटीमा प्रदूषित भयौं

फाइल तस्बिर

भर्खरै सत्ताबाट बाहिरिएको नेकपा माओवादी केन्द्रभित्र संसदीय परिपाटीभित्र पार्टी प्रदूषित भएको कुरा उठेको छ। शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा यस्तो कुरा उठेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

‘कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदूषित भएका छौं । प्रदूषणबाट मुक्त पार्नका लागि शुद्धीकरण अभियान चलाउनुपर्छ,’ प्रवक्ता सापकोटाले भने,‘त्यो अभियान पार्टीको हुँदै हो र त्यसपछि फेरी राज्यको पनि हो । अब आन्दोलनका स्वरूपलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ । सदन र सडकलाई जोड्नुपर्छ ।’ 

यस्तै पार्टीको परिस्थिति पेचिलो र जटिल हुँदै गएको कुरा पनि बैठकमा उठेको उनले बताए । ‘राष्ट्रियता र लोकतन्त्र जनताको जनजीविकाको सम्बन्धमा पनि त्यसलाई सामना गर्न पार्टी नै सबल, सक्षम र शुद्धीकरण हुनुपर्छ । त्यसका लागि हामीले शुद्धीकरण अभियान चलाउनुपर्छ भन्ने कुरा उठेको छ,’ सापकोटाले भने।

यसका लागि जनतामा जानुपर्ने कुरा बैठकमा उठेको पनि सापकोटाले बताए । उनले थपे, ‘सदन र सडक जोड्ने स्पष्ट नीति, योजना र कार्यक्रमसहित जनतामा जानुपर्छ । विगतका अनुभवलाई पनि फेरि अध्ययन गर्नुपर्छ । भन्ने कुरा उठेको छ ।’ जनतामा जाँदा प्रस्ट कार्यदिशासहित जानुपर्ने कुरा भएको पनि उनले बताए।

मूलतः पहिले शक्तिशाली रहेको पार्टी आफ्नो वर्गसँग छुट्टिँदा कमजोर भएको समीक्षा भएको पनि उपाध्यक्ष सापकोटाले बताए । ‘हामी शक्तिशाली थियौं, अहिले हामीलाई शक्तिशाली वर्गसँग अलग भएजस्तो देखिएको छ । अब हामीले हाम्रा वर्गसँग जोडिँदै हाम्रा आचरण पनि सुधार गर्नुपर्ने कुरा समीक्षा भएको छ,’ उनले भने ।

प्रकाशित: २६ श्रावण २०८१ १८:३५ शनिबार

#Maoist Center