६ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइतबार बिहान प्रधानमन्त्री नियुक्त हुँदै ओली, दिउँसो शपथ

राष्ट्रपति कार्यालय शीतल निवासले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्न तयारी थालेको छ।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहानै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी थालेको शीतल निवास स्रोतले बतायो।

‘रीतपूर्वक प्रधानमन्त्रीमा दाबी आएको छ। यसैले बिहानै प्रधानमन्त्री पदमा नियुक्त गर्ने तयारी छ,’ राष्ट्रपतिको सचिवालय स्रोतले भन्यो, ‘दिउँसो नै शपथ ग्रहण पनि गर्ने तयारी भइरहेको छ।’

शुक्रबार प्रतिनिधिसभामा भएको विश्वासको मत परीक्षणमा प्रधानमन्त्री पुष्पकमल दाहाल असफल भएपछि राष्ट्रपति पौडेलले साँझ नै आइतबारसम्मको समयावधि दिएर नेपालको संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको सहयोग प्राप्त सरकारका लागि आह्वान गरेका थिए।

सोहीअनुसार एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँगै शीतल निवास पुगेर राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। तर राष्ट्रपतिले नियुक्ति दिन आइतबारसम्मको समय लिएका छन्।

प्रकाशित: २९ असार २०८१ १४:५५ शनिबार