२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सभापति बन्न शशांक सक्रिय

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको १३औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित उनले १४औं महाधिवेशनमा पदाधिकारीमा नभई केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए। केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

नेपाल प्रेस युनियन सुनसरी शाखाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शंशाकले भने, ‘१५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने योजना छ।’ त्यसैको तयारीका लागि आफू देश दौडाहामा लागेको जानकारी दिँदै उनले भने, ‘साथीहरूसँग रायसुझाव लिन हिँडिरहेको छु।’

उनले आफू सभापतिमा निर्वाचित भए पार्टीमा अहिले देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘म सभापति भएपछि प्रदेश र स्थानीय तहलाई बलियो बनाएर लैजानेछु,’ उनले भने, ‘अहिलेका सभापति शेरबहादुर देउवालाई सल्लाह दिँदा पनि कार्यान्वयन भएन।’

नेता शशांकले स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा टिकट वितरण सम्बन्धित तहले नै गर्न पाउनुपर्ने बताए। ‘केन्द्रमा बसेर अरूले लाद्ने होइन, संघीयता ग्रहण गर्न सक्नुप¥यो,’ उनले भने।

कांग्रेस विधानअनुसार वर्तमान सभापति देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदै छ। विधानको व्यवस्थाअनुसार देउवाले अब तेस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बन्न मिल्दैन। त्यसैले देउवा पनि आफ्नो उपयुक्त उत्तराधिकारीको खोजीमा छन्। शशांक १५औं महाधिवेशनमा आफू देउवाको रोजाइमा पर्नेमा आशावादी छन्।

दुई ठूला दल कांग्रेस र एमाले मिलेर नयाँँ सरकार बनाउन लागेको प्रसंगमा शशांकले मुलुक एकतन्त्रीय शासनतर्फ जानसक्ने खतरा रहेको बताए। उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको विपक्षी पनि सशक्त हुनुपर्ने हो। अब दुईवटा ठुला दल मिलेर राज्य सञ्चालन गर्दा बलियो प्रतिपक्षी हुँदैन। बलियो प्रतिपक्षी नभए के हुन्छ? स्थिर सरकारका लागि कांग्रेस–एमाले मिल्दा राम्रो भए पनि शक्ति सन्तुलनचाहिँ नहुने भयो।’

उनले कम्युनिस्टसँग कांग्रेस मिल्नु दुर्भाग्य भएको बताए। ‘हाम्रो यत्रो ठुलो शक्ति हुँदाहुँदै कम्युनिस्टसँग मिल्न जानु हुँदैन्थ्यो,’ उनले भने, ‘दुई अलगअलग धुव्र कसरी मिल्ने?’ उनले कांग्रेसले मुलुकमा कम्युनिस्टलाई स्थापित गरिदिएको बताए। ‘कम्युनिस्टलाई स्थापित गराउन कांग्रेसको हात छ। निर्वाचन हार्नेबित्तिकै मिल्नुपर्ने कारण छैन,’ उनले भने।

अर्को एक प्रसंगमा शशांकले धर्मलाई स्वतन्त्र छाडिदिनुपर्ने बताए। ‘धर्म न सापेक्ष हुन्छ, न निरपेक्ष,’ उनले भने, ‘यसमा सरकारले हस्तक्षेप गर्नु हुँदैन। धर्म स्वतन्त्र हुनुपर्छ।’

प्रकाशित: २० असार २०८१ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App