१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

‘खेल क्षेत्रको संस्थागत विकासका लागि घरेलु प्रतियोगिताको भूमिका महत्वपूर्ण’

प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका हुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो जिकिर गरेका हुन्।

प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तीको अवसर पारेर आयोजित प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए। चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ थियो।

उनले भने ‘यहाँहरुको उपस्थिति र उत्साह हेर्दा प्रकाश दाहाल साँच्चै नै युवाहरुमा राम्रैसँग बस्न सफल भएका थिए भन्नेकुरालाई यसले फेरि प्रमाणित गरेको छ। यो आयोजनामार्फत प्रकाश दाहालका स्मृति मात्रै होइन, उनका योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको छ। खेलाडी भाई बहिनीहरुलाई उच्च प्रोत्साहनका साथ अनुशासित रुपले खेल सम्पन्न गर्न बधाई दिन्छु।’

प्रकाश दाहाल फाउन्डेसनकी अध्यक्ष विना मगरले यस प्रतियोगिताबाट राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्ने भन्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक महिला र पुरुषलाई सम्मानस्वरुप एक थान मोटरसाइकल प्रदान गरिने जानकारी दिइन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले दिवङ्गत प्रकाश दाहालले देशको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यस किसिमको प्रतियोगिताले बक्सिङ खेलबाट राष्ट्रिय टोलीको निर्माण गर्न योगदान पुग्ने दाबी गरे।

आजदेखि सुरु भएको उक्त प्रतियोगितामा महिला तथा पुरुष गरी दुई सय खेलाडी प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता यही असार २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १७ असार २०८१ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App