२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

भुटानमा रहेका राजबन्दी रिहाईको माग गर्दै हेगमा प्रदर्शन

भुटानका राजबन्दीहरुको रिहाईका लागि विश्वव्यापी अभियान (ग्लेबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटान)ले नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायिक अदालत अगाडि प्रदर्शन गरेको छ । भुटानमा प्रजातन्त्र मागेको आरोपमा जेलमा परेका ३५ जनाभन्दा बढी राजबन्दीहरुलाई तत्कालै रिहाईका लागि अभियानले माग गरेको छ ।

अभियानका संस्थापक तथा संयोजक राम कार्कीका अनुसार नेदरल्याण्ड्समा रहेका भुटानी समुदाय र शुभेच्छुकले दुई घण्टा हेग अदालत अगाडि प्रदर्शन गरेका थिए । भुटानमा मानवअधिकार उल्लंघन रोक्न, जातीय भेदभाव रोक्न माग गर्दै प्लेकार्ड र व्यानरसहित प्रदर्शन भएको हो । अभियानले भुटानी शरणार्थीहरुलाई सम्मानपुर्वक स्वदेश फिर्ता गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न, भुटानी राजबन्दीहरुलाई आम माफी दिन माग गरेको कार्कीले बताए ।  

‘आफूलाई प्रजातान्त्रिक देश दाबी गरे पनि, लिखित संविधान जारी गरे पनि, भुटानले अहिलेको प्रजातान्त्रिक व्यवस्थाका लागि लडेका प्रजातन्त्रबादी नागरिक र मानवअधिकारकर्मीहरुलाई जेलमा राख्ने कार्य जारी राखेकोको छ’ हेगमा आयोजित विरोध कार्यक्रममा कार्कीले भने । संविधानमा अत्यन्तै शक्तिशाली रहेका भुटानका राजाले राजबन्दीहरुलाई आम माफी दिन बेवास्ता गरिरहेको, जेलमा राजबन्दीहरुमाथि यातना दिने कार्य भइरहेको , बाहिर रहेका भुटानी समुदाय र अन्तराष्ट्रिय समुदायको सरोकारलाई राजाले निरन्तर वेवास्ता गरिरहेको पनि आरोप लगाए ।

राजबन्दीका परिवारले विभिन्न माध्यमबाट राजालाई उनीहरुको विना शर्त रिहाईका लागि माग गर्दै आएको तर उनीहरुको मागलाई राजाले पूर्णतः वेवास्ता गरेको आरोप अभियानको छ  ।

अमेरिकी मानवअधिकारबादी संस्था ह्युमेन राइट्स वाचले भुटानी राजबन्दीहरुका बारेमा केही वर्षअघि विस्तृत विवरण सार्वजनिक गरेको थियो । अभियानका संयोजक कार्कीका अनुसार ३० बर्ष भुटानको चेम्गाङ् जेलमा बसेर हालै रिहा भएर नेपाल आइपुगेका राजबन्दी मधुकर मगरलाई निकै अप्ठेरो छ ।  

अभियानका तर्फबाट युरोपियन युनियन, अमेरिकी बिदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद् लगायत विश्व समुदायलाई भूटानमा तत्कालै राजबन्दी रिहाईका लागि बुलन्द आवाज उठाइदिन आह्वानसमेत गरिएको छ । विरोध प्रदर्शनमा नेदरल्याण्डमा रहेका भूटानी समुदायका अगुवा गोपाल गुरुङ, देवी चण बस्नेत, पदम बस्नेत,दशरथ बास्तोला लगायत थिए ।

अभियानका अनुसार भुटानमा केही दशकदेखि ३५ जना राजबन्दी जेलमा छन् । उनीहरुमध्ये प्रहरीको यातनाका कारण ६ जना गम्भीर विरामी अवस्थामा छन् । मानवअधिकारकर्मी लोकनाथ आचार्य, बमबहादुर तिवारी, कुलबहादुर बस्नेतलगायतको अवस्था अझै अज्ञात छ  । 

प्रकाशित: ३१ वैशाख २०८१ १८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App